अध्यक्ष चुनिएको २६ वर्ष पछि प्रदेश सांसद बनेका भण्डारी

चुनाव प्रचार गर्दागर्दै बुवा गुमाए, विजयको माला लगाउन पाएनन्

उम्मेदवारहरू अन्तिम चुनावी प्रचारप्रसारमा थिए। बझाङ प्रतिनिधि सभा १ प्रदेश सभा १ का नेकपा एमाले उम्मेवार दमनबहादुर भण्डारी पनि चुनावी धपेडीमै थिए। 

चुनावको पूर्वसन्ध्यामा वैशाख ११ गते भण्डारीलाई पितृशोक पर्‍यो। उनका बुवा ८८ वर्षीय चक्रबहादुर भण्डारीको निधन भयो। त्यसपछि भण्डारी चुनावी प्रचारप्रसारमा बस्ती पुग्न सकेनन्। उनी अहिले बुवाको किरियामा छन्। 

बुवा गुमाएका उनै एमालेका भण्डारी बझाङबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन्। बुवाको किरियामा रहेका भण्डारी सेतै कपडामा मतगणनास्थलमा पुगिरहेका थिए।

पार्टीका नेताकार्यकर्ता रातो टीका र फूलमाला लगाएर विजयोत्सव मनाइरहेका छन्। तर, जितको खुसी भए पनि पितृशोकका कारण विजयको रातो टीका लगाउन पाएनन्। एमाले नेताहरूका अनुसार उनले माला पनि पहिरिएनन्।
 
उनी सहभागी विजय र्‍यालीमा चैनपुर बजार परिक्रमा गर्दै पार्टी कार्यालयमा पुगेर कोण सभामा परिणत भयो।

नेपाली कांग्रेससँगको निकै प्रतिस्पर्धात्मक चुनावी भिडन्तमा भण्डारी २६७ मतले विजयी भए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भण्डारी ११ हजार ६१३ मतका साथ प्रदेश सांसद निर्वाचित भए।

सोमबार सम्पन्न मतगणनामा निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत पाए। उनी सुदूरपश्चिम प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहका छोरा हुन्।

सिंहको सवारी दुर्घटनामा निधन भएपछि रिक्त बझाङ १(१) उपनिर्वाचन भएको थियो। यस क्षेत्रममा नेपाली कांग्रेस सिंहकै छोरालाई उम्मेदवार बनाएका थियो। तर उनी सफल हुन सकेनन्। 

यसअघि चुनावमा तत्कालीन मन्त्री सिंहसँग एमालेका अफिलाल ओखेडा पराजित भएका थिए। त्यसबेला कांग्रेसका सिंहलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सघाएका थिए।

२१ फागुनमा कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन फुटेपछि त्यसको २ महिनामै उपचुनावमा भण्डारीले कांग्रेसलाई पराजित गरेका हुन्।

०७४ को चुनावयता एमालेले बझाङमा संसदीय चुनाव जित्न सकेको थिएन। त्यसबेला वाम गठबन्धनका साझा उम्मेदवार एमालेका भैरवबहादुर सिंह विजयी भएका थिए। 

त्यसपछि ०७९ को चुनावमा एमालेका ऐन मगर नेकपा एकीकृत समाजवादी (वाम लोकतान्त्रिक गठबन्धन) का भानुभक्त जोशीसँग पराजित भए। यस क्षेत्रमा सत्तारुढ दलहरू एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका थिए। 

संघीय सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१ मत ल्याए। नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत ल्याउँदा राप्रपाका किशोरकुमार खड्काले २४२ मत प्राप्त गरे।

प्रदेश सभा सदस्यका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा थिए। अन्य उम्मेदवारले सय मत पनि पुर्‍याउन सकेनन्।