बझाङमा ९ मतले अघि लाग्यो एमाले

चैनपुर (बझाङ)– बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा भएको उपनिर्वाचनमा नेकपा एमालेले अग्रता लिएको छ।

नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई पछि पार्दै एमालेका दमनबहादुर भण्डारीले ९ मतको अग्रता बनाएका हुन्।

निर्वाचन आयोगले पछिल्लो पटक अद्यावधिक गरेको विवरण अनुसार एमालेका भण्डारीले ९ हजार ८८९ मत पाएका छन् भने कांग्रेसका सिंहले ९ हजार ८८० मत पाएका छन्।तेस्रो स्थानमा रहेका नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले ३ हजार ६ सय ६३ मत पाएका छन्।

नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार ४ सय ५ मत पाएर चौथो स्थानमा छन्।गणना सुरु हुँदा अग्रता बनाएका एमालेका भण्डारीले गणना अन्तिमतिर आइपुग्दा फेरि अग्रता बनाएका हुन्।

हालसम्म २६ हजार २१८ सदर मत गणना भएको छ। शनिबार सम्पन्न उपनिर्वाचनमा उक्त क्षेत्रमा ४९.१२ प्रतिशत अर्थात् ३० हजार ३२८ मतदान भएको छ।

६१ हजार सात सय मतदाता रहेको बझाङ प्रदेश सभा १ मा तत्कालीन प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो।