वीरगञ्जमा गोली चल्यो,गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका एक आरोपित घाइते

काठमाडौ।  प्रहरीले वीरगञ्जमा गोली चलाएको छ। घटनामा काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका एक आरोपित घाइते छन्।

२०७९ असोजमा काठमाडौंको गोठाटारमा अज्ञात समूहको गोली लागेर मोहम्मद मारिएका थिए। घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान छन्। उनको साथबाट प्रहरीले लागूऔषध ब्राउनसुगर र पेस्तोल बरामद गरेको छ। 

पासवान नेपाल छिरेको सूचनाका आधारमा खोजी गरिरहेको प्रहरीसँग उनको जम्काभेट भएको थियो। सो क्रममा उनले आक्रमण गर्न खोजेपछि जबाफी कारबाही गरिएको पर्साका एसपी कुमोध ढुङ्गेलले बताए।

गोली हानेर उनलाई नियन्त्रणमा लिइएको ढुङ्गेलले बताए। उनको देब्रे खुट्टामा गोली लागेको छ। पासवानको नारायणी अस्पतालमा उपचार भइरहेको छ।प्रहरीका अनुसार, पासवान व्यवसायी सुरेश केडियाको अपहरणमा दुई वर्ष जेल बसेर छुटेका व्यक्ति हुन्।