आज पनि काठमाडौँ विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा

काठमाडाैँ। आज पनि मुलुकको राजधानी काठमाडौँ विश्वका प्रमुख प्रदूषित सहरको सूचीको पहिलो नम्बरमै छ।

एयर क्वालिटी इन्डेक्सले सार्वजनिक गरेको विश्वका प्रमुख प्रदूषित १५ सहरको सूचीमा आइतबार पनि काठमाडौँ उपत्यका पहिलो नम्बरमा छ। गएको तीन दिनदेखि काठमाडौँ विश्वकै प्रमुख प्रदूषित सहरको सूचीको पहिलो नम्बरमा कायम छ।

आज (आइतबार) काठमाडौँको समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) १७७ छ। गएको शुक्रबार काठमाडौँको वायु गुणस्तर सूचकांक २०६ थियो। विश्वकै प्रदूषित दोस्रो सहरको सूचीमा आज चीनको चेङ्दु प्रान्त छ भने तेस्रो स्थानमा थाइल्यान्डको चियाङ माईछ। चीको चेङ्दुको एक्यूआई आज १६९ छ भने थाइल्यान्डको चियाङ माइको १६८ छ। 

प्रदुषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने अवस्थाको सूचकको रुपमा लिइन्छ। १०१ देखि १५० सम्मको एक्यूआईले श्वाशप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्ने विज्ञहरुले बताएका छन्। १५१ देखि २०० सम्मको एक्यूआईलाई अस्वस्थकर वायुको रुपमा लिइन्छ। 

त्यसैगरी २०१ देखि ३०० सम्मको एक्यूआईलाई अति अस्वस्थ, ३०१ देखि ४०० सम्मको एक्यूआईलाई खतरनाक र ४०१ देखि ४५० सम्मको एक्यूआईलाई अति खतरा वायू मानिन्छ।  काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ। 

काठमाडाैँ उपत्यकामा वायू प्रदूषण मानव जीवनका लागि ठूलो समस्या बन्दै गएको छ। 

हेर्नुहोस् विश्वको प्रमुख १५ प्रदूषित सहरको सूची