आगलागीबाट ७९ घर जले, एकको मृत्यु

काठमाडौँ, १३ वैशाख :गत साउनदेखि यही वैशाख १२ गतेसम्म जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर लजेर नष्ट भएको छ भने एकजनाले ज्यान गुमाएका छन् । जिल्लाका विभिन्न एक सय १० वटा स्थानमा भएको आगलागीको घटनामा रु पाँच करोड बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्लामा भएको आगलागीमा परेर एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । सामुदायिक वनमा लागेको डढेलोबाट रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित हरमटारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो ।

स्थानीय मैनाचौर सामुदायिक वन नजिकैको खेतमा झिक्रा तथा पत्कर डढाउन लगाएको आगो अनियन्त्रित भएपछि निभाउने क्रममा श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । विभिन्न समयमा भएका अन्य पाँचजना घाइतेको अवस्था सामान्य रहेको स्थानीयले बताएका छन् ।

आगलागीबाट एक सय ७५ वटा चौपाया र एक सय ९५ पक्षी जलेर मरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले राससलाई जानकारी दिनुभएको छ । “जिल्लामा दैनिकजसो आगलागीका घटना भइरहेका छन् । आगलागी नियन्त्रण तथा उद्धारका लागि मातहतका प्रहरी परिचालन गरिएको छ”, उहाँले भन्नुभयो, “घटनास्थलमा खटिएका प्रहरी आगलागीपीडितलाई सुरक्षित स्थानमा सार्नका साथै थप क्षति हुन नदिन रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । जिल्लामा भएका अधिकांश आगलागीका घटना सामुदायिक वनमा लागेको डढेलोबाट हुने गरेको पाइएको छ ।”

सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा बुधबारमात्रै बराहापोखरी गाउँपालिका–१ बराहापोखरीमा १३ वटा घर जलेर नष्ट भएको छ । विभिन्न चारवटा सामुदायिक वनमा लागेको डढेलो गाउँमा पस्दा १३ वटा घर, सातवटा मचान, दुईवटा गोठ, एउटा बाख्राखोर र एउटा भान्छाघर जलेर खरानी भएको हो ।

बराहपोखरीका आगलागी पीडितको उद्धार, व्यवस्थापन तथा राहत उपलब्ध गराउने काम भइरहेको वडाध्यक्ष ढकबहादुर कार्कीले जानकारी दिनुभएको छ । वडाध्यक्ष कार्कीका अनुसार दिउँसोको समयमा भएको आगलागीबाट मानवीय क्षति नभएको तथा क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

यस्तै बुधबार नै दिउँसो स्थानीय ठूलोवन सामुदायिक वनमा लागेको डढेलोले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेको तल्लोखोक्सेलीका भूपराज आलेमगर र भीमबहादुर बस्नेतको घर तथा नरबहादुर भुजेल, भेषबहादुर भुजेल र पदमबहादुर मगरको गोठ जलेको छ । इलाका प्रहरी कार्यालय हलेसी र प्रहरी चौकी च्यास्मीटारका प्रहरीको टोली आगो नियन्त्रण गरेर फर्किएपछि पुनः हावाहुरीले उडाएको आगोले बस्नेतको घर जलेको वडाध्यक्ष किशोर बस्नेतले बताउनुभयो ।

दश स्थानीय तह रहेको जिल्लामा स्थानीय बासिन्दा आफैँले जानाजान सामुदायिक वनमा डढेलो लगाउँदा आगलागीका घटना हुने गरेको समाचार स्रोतको दाबी छ । हिउँदमा बोटबिरुवाबाट झरेका पातपतिङ्गरले वर्षामा घाँस पलाउन नदिने भएपछि डढाउन स्थानीय बासिन्दा आफैँले सामुदायिक वन क्षेत्रमा आगो लगाउने गरेको पाइएको छ ।

सामुदायिक वन तथा आसपासका निजी जङ्गलमा लगाइने आगो नजिकै रहेको गाउँमा पस्दा ठूलोमात्रामा जनधनको क्षति हुनुका साथै अरबौँको वनस्पति जलेर नष्ट हुने गरेको छ । सामुदायिक वनमा आगजनी गर्ने व्यक्तिलाई सम्बन्धित निकायले अहिलेसम्म कारबाहीको दायरामा ल्याउन सकेका छैनन् ।

सामुदायिक वन क्षेत्रमा जानाजान आगजनी गर्ने व्यक्तिलाई दुईदेखि पाँच वर्षसम्म कैद सजाय तथा रु २० देखि ५० हजारसम्म जरिवाना हुने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ । सार्वजनिक सम्पत्तिमा हानी पुर्याउनु कानुनविपरीत हुने तथा वन क्षेत्रमा आगजनी गर्दा दीर्घकालीन असर पुग्ने चेतनाको अभावमा स्थानीय बासिन्दा आफैँले जानाजान सामुदायिक वनमा आगजनी गर्ने गरेका हुन् ।

जिल्लामा आगलागीबाट हुने क्षति तथा बच्ने उपायका बारेमा सचेतनामूलक कार्यक्रम गरिए पनि जनस्तरमा नपुग्दा समस्या भएको जानकारले बताउने गरेका छन् । आगलागीका घटना नियन्त्रण गर्न वन कार्यालय, सामुदायिक वन उपभोक्ता समिति तथा प्रहरीले सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा यस वर्षमात्रै तीन दर्जन बढी सामुदायिक वनमा डढेलो लागेको डिभिजन वन कार्यालय खोटाङले जनाएको छ । जिल्लाका विभिन्न सामुदायिक वनमा लागेको डढेलोले पशुपक्षी, काठ काट्न योग्य रुख तथा जडीबुटीजन्य वनस्पति जलेर नष्ट हुँदा अरबौँको क्षति भइसकेको डिभिजन प्रमुख पशुपति दाहालले राससलाई जानकारी दिनुभयो ।