कुम्भ मेलामा दर्शनार्थी सहभागी घुइँचो

सुनसरीको बराह क्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेदेखि सञ्चालन भइरहेको बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा हालसम्म १२ लाखभन्दा बढी दर्शनार्थी सहभागी भएका छन् । बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाका मूल आयोजक समितिको तथ्याङ्कअनुसार मेलामा पछिल्लो समय सयौँ दर्शनार्थी सहभागी हुने गरेको महाकुम्भ मेलामुल आयोजक समितिका सचिव चन्द्र मगरले बताउनुभयो । 

आयोजक समितिले एक महिनाभरमा करिब ३० लाख दर्शनार्थी सहभागी हुने अनुमान गरेको थियो ।  दैनिकरुपमा दर्शनार्थी बढ्दै गएकाले आयोजकले लिएकोे लक्ष्यअनुसार एक महिनामा ३० लाख दर्शनार्थी सहभागीे हुनसक्ने र लिइएको अपेक्षा पूरा हुनसक्ने सचिव मगरले बताउनुभयो ।

 दैनिकरुपमा दर्शनार्थी बढ्दै गएको र दिनानुदिन गर्मी अत्यधिक बढेसँगै व्यवस्थापनमा अझ केही थप गरेर सरसफाइसँगै दर्शनार्थीको लागी सबै ठाउँमा पानीको व्यवस्था र खाना बस्नको सुविधा राम्रो तयार पारेर अगाडि बढी रहेको मूल आयोजक समितिका सहअध्यक्ष तथा बराह क्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो । 

कुम्भमेलामा बिहानैदेखि दर्शनार्थीको भीड लाग्ने गरेको छ । सप्तकोशीमा स्नान गर्न, कुम्भको दर्शन गर्न, प्रवचन सुन्न र घुमघाम गर्न दर्शनार्थी आइरहेका छन् । कुम्भमा सहभागी हुन पूर्वी नेपालका विभिन्न ठाउँबाट मात्र नभएर बैतडी, दाङ, बाजुरा , अछाम, डडेलधुरालगायतका अन्य सबै जिल्लाबाट दर्शनार्थी आइरहेको उहाँले बताउनुभयो । 

त्यस्तै मधेसका सप्तरी, सिरहादेखि भारतबाट समेत उल्लेख्य रुपमा दर्शनार्थी आइरहेको र अमेरीका, अष्ट्रेलिया , क्यानडालगायका देशहरुबाट भक्तजन मात्र नभएर धर्मगुरुसमेत आएको आयोजकको भनाइ छ । टाढादेखि आउने दर्शनार्थीका लागि खाना र बस्नको राम्रो व्यवस्था मिलाइएको छ । त्यस्तै यातायात, पार्किङ,  खानेपानी, शौचालयजस्ता आधारभूत कुराहरुको राम्रो व्यवस्थापन गरिएकाले अधिकांश दर्शनार्थी सन्तुष्ट र उत्साहित देखिएको सहअध्यक्ष तथा नगरप्रमुख कार्कीको भनाइ छ ।

हिन्दू धर्म शास्त्रीय मान्यताअनुसार विश्वका चारधाममध्येको एक पवित्र तीर्थ बराह क्षेत्रस्थित सप्तकोशी नदीमा जम्मा चार वटा शाही स्नानका कार्यक्रम राखिएको छ । यही बैशाख १ गते र ११ गते २ शाही स्नान सकिएको छ भने बाँकी २ स्नान १६ गते र २६ गते गरिने छ ।

धर्मशास्त्रअनुसार सन्त, महन्तले गर्ने स्नानलाई शाही स्नान भनिन्छ । विशेष गरी स्नानलाई महत्वपूर्ण मानिन्छ बराहक्षेत्र मै सबैभन्दा बढी स्नान गर्ने प्रचलन रहेको छ । त्यहाँ खाली खुट्टा हिँडेर उल्लासमय जाने आउने गरिन्छ शुभमुहुर्तमा शाही स्नान गरेमा अमरताको वरदान प्राप्त गर्ने धार्मिक विश्वास रहेको सहअध्यक्ष कार्कीले बताउनुभयो । बराहक्षेत्रस्थित चतराधाममा गत चैत २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको महाकुम्भ मेला यही वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ ।