सम्पत्ति शुद्धीकरण मुद्दा :रिडी पावर कम्पनीका अध्यक्ष गुरूप्रसाद न्यौपानेलाईएक वर्ष कैद र चार करोड जरिवाना

विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा दोषी ठहर भएका रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरूप्रसाद न्यौपानेलाई एक वर्ष कैद र करिब चार करोड रुपैयाँ जरिवाना तोकेको छ ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले न्यौपानेलाई आइतबार एक करोड ९९ लाख १० हजार २५२ रुपैयाँ बिगोको दोब्बर जरिवाना हुने गरी तीन करोड ९८ लाख २० हजार ५०४ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय तथा बिगो कायम गरिएको रकम बराबरको सम्पत्ति जफतको फैसला गरेको हो ।

न्यौपाने जेष्ठ नागरिक भएको कारण देखाउँदै विशेषले ठहर भएको दुई वर्ष कैदलाई ५० प्रतिशत मिनाहा गरीएको छ।

 अध्यक्ष न्यौपानेले कम्पनीको शेयर पदमा बहाल रहँदाकै बेला ०७७ चैत १९ देखि ०७८ साउन २४ सम्म खरिद–बिक्री गरेको र उनले धितोपत्रसम्बन्धी ऐन ०६३ को दफा ९१ बमोजिमको भित्री कारोबार गरेको देखिएकाले उक्त कसुरमा मुद्दा दर्ता भएको थियो ।