माध्यममिक तह र एसएलसीको नक्कली प्रमाणपत्र पेस गरेका अहेव महतरालाई ६ महिना कैद सजाय

२८ चैत, काठमाडौं कक्षा १० उत्तीर्ण गरेको प्रमाणपत्र नक्कली भेटिएपछि एक अहेब दोषी ठहर भएका छन् । गुल्मी मालिका गाउँपालिका–५ स्थित छापहिले स्वास्थ्य चौकिमा कार्यरत देवबहादुर महतरालाई विशेष अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको हो । 

बुधबार विशेषका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले अहेब महतरालाई नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको मुद्दामा दोषी पाएको हो । उनलाई ६ महिना कैद सजाय तथा १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाइएको हो । 

उनले सरकारी सेवामा प्रवेश गर्दा राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीमा पेस गरेको एसएलसीको प्रमाणपत्र नक्कली रहेको भेटिएको थियो । यसैगरी उनले माध्यमिक तहको प्रमाणपत्र भारतको वाराणासीस्थित शिक्षा परिषद्बाट उत्तीर्ण गरेको भनेपनि उक्त प्रमाणपत्रसमेत नक्कली रहेको पुष्टि भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसै वर्ष ७ मंसिरमा मुद्दा चलाएको थियो । जसमाथि फैसला गर्दै विशेषले नक्कली प्रमाणपत्र पेस गरी नेपाल स्वास्थ्य सेवा अहेब पदमा नियुक्ति लिइ गैरकानूनी लाभसमेत लिएको भन्दै सजाय सुनाएको हो ।