उजुरी दर्ता गर्न घूस मागेको अभियोग लागेका असइसमेत दुईलाई सफाइ

५ चैत, काठमाडौं उजुरी दर्ता गर्ने प्रयोजनका लागि घूस मागेको अभियोग लागेका प्रहरी सहायक निरीक्षकले सफाइ पाएका छन् । उनले घूस मागेको भनी उजुरी दिने र पछि अदालतमा प्रतिकूल बकपत्र गर्नेलाई समेत विशेषले सफाइ दिएको छ । 

विशेषका सदस्यत्रय तेजनारायण सिंह राई, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको इजालसले आइतबार यस्तो फैसला गरेको हो । इलाका प्रहरी कार्यालय मिर्चैया (सिरहा) को मुद्दा शाखामा कार्यरत असइ सचिन कुमार भदैसवारले जाहेरी दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग नौ हजार घूस मागिरहेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो । 

जसपछि घूस लिइसकेको अवस्थामा उनी पक्राउ परेका थिए । जसपछि यसै वर्ष ५ असारमा उनीमाथि मुद्दा दायर भएको हो । उनलाई घूस उपलब्ध गराउनेले अदालतमा प्रतिकूल बकपत्र गरेपछि उनीविरुद्ध भने २६ माघमा मुद्दा चलाइएको हो । यद्यपि दुवैलाई विशेषलले सफाइ दिएको छ । घूस उपलब्ध गराउने परिवर्तित नाम मिर्चैया १(२०८०) ले अदालतमा बयान बदलेपछि उनीविरुद्ध पनि मुद्दा दायर भएको थियो ।