सुनसरीमा एक कैदीको शंकास्पद मृत्यु

काठमाडाैँ। सुनसरीको झुम्का कारागारभित्र एक कैदीको शंकास्पद मृत्यु भएको छ। ४२ वर्षीय न्यायधीश राईको कारागारमै मृत्यु भएको हो।

पत्नी हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको करागारभित्रै मृत्यु भएको आफन्तको दाबी छ। 

कारागारभित्रै कुटेर उनको हत्या गरिएको आरोप राईका आफन्तले लगाएका छन्।कारागारमा भाईको हत्या भएको दाबी गर्दै मृतकका दाइ सुभाष राईले घटनाको छानबिन गर्नुपर्ने बताए। न्यायधीशको शरीरभरि निलडाम रहेको, कान सुनिएको र चोट देखिएकाले कारागारभित्रै कुटेर हत्या गरेको मृतककी भाउजु उर्मिला राईले दाबी गरिन्।

राईको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको झुम्का कारागारका प्रमुख धुव्रराज कोइरालाले दाबी गरे। स्वास्थ्यमा समस्या रहेकाले उपचारका लागि जिल्ला अस्पताल सुनसरीमा भर्ना गरिएको र उपचारका क्रममा उनको मृत्यु भएको कोइरालाको भनाई छ।

जिल्ला अस्पताल सुनसरीका प्रमुख श्रेया पङ्गेनीले राईको अस्पताल आउनुअघि नै मृत्यु भइसकेको बताए। पीडित पक्षले न्याय र क्षतिपूर्ति नदिएसम्म शव परीक्षण गर्न नदिने र शव नबुझ्ने अडान लिएका छन्। शव इनरुवा अस्पतालमा राखिएको छ।