सानोठिमीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु

भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ। 

मध्यपुरठिमी नगरपालिका २ सानोठिमीस्थित सेनाको ब्यारेक नजिकैको ओरालोमा नम्बर नखुलेको पल्सर मोटरसाइकलको ठक्ककरबाट सोही ठाउँका ६२ वर्षीय राम थापा मगरको मृत्यु भएको हो। 

बिहीबार बेलुका ७ बजेतिर मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थापालाई मध्यपुर अस्पताल ठिमी लगिएको थियो। उपचारको क्रममा उनको साँझ ७ः२१ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी वशन्त पाठकले बताए। 

घटनाको अनुसन्धानका लागि प्रहरी बृत्त ठिमीबाट टोली खटाइएको छ। मृतकको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ। ठक्कर दिने मोटरसाइकलसहित चालक फरार छन्।