लागुऔषध मुद्दामा दुई वर्ष जेल सजाय भोगेर छुटेका व्यक्तिले नै हानेका थिए चक्कु  रेवाज र प्रजनलाई

काठमाडौं। फागु पुर्णिमाका दिन होली खेल्नेक्रममा ललितपुरको ढोलाहिटीमा दुई जनाको मृत्यु हुने गरी भएको घटनाका मुख्य आरोपी विजय राई रहेको प्रहरीले निष्कर्ष निकालेको छ। 

घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरीले ललितपुर महानगरपालिका–२६, ढोलाहिटी घटनाका मुख्य आरोपित विजय राई भएको प्रहरीले निष्कर्ष निकालेको हो। राई पपिना रेस्टुरेन्टका सञ्चालकसमेत रहेको प्रहरीले जनाएको छ। 

आइतबार राति करिब ९ बजे ढोलाहिटीस्थित सो रेस्टुरेन्टमा दुई समूहबीच झडप भएको थियो। त्यसक्रममा चक्कु प्रहारबाट दुई युवकको मृत्यु भएको थियो।

२८ वर्षीय रेवाज राई र ३० वर्षीय प्रजन राईमाथि विजयले नै चक्कु प्रहार गरेको पाइएको ललितपुर प्रहरीले जनाएको छ ।

चक्कु प्रहारबाट रेवाज र प्रजन घाइते भएका थिए। उनीहरूलाई रेस्टुरेन्टमा सँगै मदिरा सेवन गरेका केही साथीले अस्पताल पुर्‍याएका थिए। 

अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकले रेवाज र प्रजनलाई मृत घोषणा गरेका थिए। 

घटनामा चक्कु प्रहार गर्ने विजय यसअघि लागुऔषध मुद्दामा दुई वर्ष जेल सजाय भोगेर छुटेका व्यक्ति भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न आरोपमा पक्राउ परेका १८ माथि अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ।