नागरिकलाई गरिबीबाट मुक्त गर्ने योजना आवश्यक

प्रतिनिधिसभा सदस्य उर्मिला माझी पौडेलले लमजुङको विकासमा सर्वपक्षीय प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको छ ।

    गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा आज लमजुङको सदरमुकाम बेँसीसहरमा आयोजित दोस्रो पञ्चवर्षीय योजना तर्जुमासम्बन्धी कार्यक्रममा सांसद माझीले योजना तर्जुमा गर्दा योजनाको आवश्यकता पहिचान र प्राथमिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

    संसद्को पूर्वाधार विकास समिति सदस्यसमेत रहनुभएकी माओवादी केन्द्रकी सांसद माझीले लमजुङको विकास योजना निर्माण गर्दा कृषि, जलविद्युत्, पर्यटनका साथमा जलवायु परिवर्तनको असर न्यूनीकरणलाई पनि समेट्नुपर्ने बताउनुभयो । उहाँले योजना निर्माण गर्दा र बजेट विनियोजन गर्दा नागरिकलाई गरिबीको रेखाबाट माथि उठाउने विषयलाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।