गीतसङ्गीत र चलचित्रले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको छ : मन्त्री किराती

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गीतसङ्गीत र चलचित्रले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याएको बताउनुभएको छ । 

गायक यश कुमारले तयार गर्नुभएको गीत ‘तिमी छाैँ र त’ को आज श्रव्यदृश्य सार्वजनिक कार्यक्रममा मन्त्री किरातीले यसका लागि गीतसङ्गीत र चलचित्र सर्जकलाई धन्यवाद दिनुभयो । 

त्यस अवसरमा मन्त्री किरातीले सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक ल्याउने लक्ष्य लिएको र त्यो पूरा भएको समेत जानकारी गराउनुभयो । “गीतसङ्गीत र चलचित्रलाई नरम कूटनीतिका रुपमा लिइन्छ । यसले नजानिँदो किसिमले प्रभाव पारिरहेको हुन्छ”, उहाँले भन्नुभयो, “उदाहरणका लागि भारतीय गीतसङ्गीत र चलचित्रले विश्वका विभिन्न देशमा प्रभाव पारिरहेका छन् ।” उहाँले समाजको सोच बदल्न सर्जकले भूमिका निर्वाह गर्नसक्ने धारणा राख्नुभयो । 

मन्त्री किरातीले विश्वका केही देशमा गीतसङ्गीत र यसको श्रव्यदृश्यले कूल गार्हस्थ उत्पादनमा समेत उल्लेख्य योगदान दिएको चर्चा गर्दै यस क्षेत्रलाई उद्योगका रुपमा विकास गर्न सक्नुपर्नेमा जोड दिनुभयो । मन्त्री किरातीले गायक यश कुमारको जीवनीसँग प्रभावित भएको उल्लेख गर्नुभयो । 

गायक यश कुमारले बाल्यकालमा खोला किनारमा बालुवा चालेर जीविकोपार्जन गर्नुभएको थियो । यश कुमारले गीतसङ्गीतको माध्यमले मनोरञ्जनसँगै सन्देश प्रभाव गर्ने प्रयास गरेको बताउनुभयो । “मैले सुरुआती समयदेखि नै गीतसङ्गीतले पार्ने प्रभावलाई ध्यान दिँदै सोहीअनुरुप गीत सृजना गर्दै आएको छु”, उहाँले भन्नुभयो, “यसपटक दुई समुदायको अहमताले निम्त्याउने कथालाई देखाउने प्रयास गरेको छु । यसले समाजमा थोरै भए पनि चेतना बढाउने काम गर्छ भन्नेमा विश्वास छ ।” 

गीतमा शब्द, सङ्गीत र स्वर यश कुमार स्वयमले दिनुभएको छ भने यसको श्रव्यदृश्यमा उहाँसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानीलगायतका कलाकारले अभिनय गर्नुभएको छ । गीतको श्रव्यदृश्यमा दिनेश पराजुलीले छायाङ्कन, पुनम चौधरीले शृङ्गार, विज्ञान राईले निर्देशन गर्नुभएको छ ।