कृषिमा जग्गाको हदबन्दी हटाउनुपर्ने:पूर्वअर्थमन्त्री पाण्डे

पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले व्यावसायिक कृषि उद्यमका लागि जग्गाको हदबन्दी हटाउनुपर्ने बताउनुभएको छ ।

    झापाको विर्तामोडमा नेपाल उद्योग तथा व्यवसायी महासङ्घद्वारा आज आयोजित कार्यक्रममा पाण्डेले ‘कृषि जग्गामा हदबन्दी जरुरत नै नभएको’ धारणा व्यक्त गर्नुभयो । “नेपालमा बसेर काम गर्नेे वातावरण बनाउने हो भने सरकारले नयाँ ढङ्गले सोच्ने र नयाँ योजनाका साथ काम गर्न थाल्नुपर्छ”, पूर्वअर्थमन्त्री पाण्डेले भन्नुभयो, “कृषि उद्योगमा जग्गाको हदबन्दी हटाउनुपर्छ ।”
    
    जग्गा टुक्राटुक्रा पारिएकाले कृषिमा लागत महँगो भएको र उत्पादनले नाफा दिन नसकेको जनाउँदै नेता पाण्डेले जग्गालाई बाझो राख्न नदिने कानुन निर्माण गर्न स्थानीय तहको सरकारलाई आग्रह गर्नुभयो ।

    भारतले धान निर्यातमा रोक लगाएको प्रसङ्ग निकाल्दै उहाँले यसलाई धानमा आत्मनिर्भर हुने अवसरका रुपमा लिइनुपर्ने बताउनुभयो । पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष पाण्डेले पर्यटकको आगमन वृद्धि र भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत् खरिद गर्ने विषय नेपाली अर्थतन्त्रको सकारात्मक सूचक भएको बताउनुभयो ।

    “कोभिड शान्त भएपछि कहाँ जाउँ भइरहेका विदेशीले नेपाललाई आफ्नो घुमफिरको गन्तब्य बनाएका छन्”, उहाँले अर्थतन्त्र सुदृढ हुने सम्भावनाका बारेमा बोल्दै भन्नुभयो, “सन् २०२०/२१ तिर नेपालमा पर्यटनबाट रु १९ अर्ब मात्र आम्दानी भएको थियो, चालू आर्थिक वर्षमा बढेर रु ७६ अर्बको हाराहारी पुग्न लागेको छ ।” पर्यटक ओसार्ने पर्याप्त हवाइजहाज नभएका कारण यातायातमा अझै ठूलो रकम बाहिर गइरहेको समेत उहाँले बताउनुभयो ।

    “दश हजार मेगावाट विद्युत् उत्पादन गर्न रु ३० खर्बको हाराहारीमा लगानी गर्दा मुलुकको अर्थतन्त्र चलायमान हुनेछ”, उहाँले भन्नुभयो, “विद्युत् बिक्रीबाट नेपालले ठूलो आम्दानी गर्ने कुरा छँदैछ, देशभित्रका सिमेन्ट, फलामे छडलगायत उद्योग पनि फस्टाउने सम्भावना हुनेछ ।”