दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर काम गरेका छौँ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम अगाडि बढाएको बताउनुभएको छ । 

बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा आज आयोजित पाण्डवखानी माविको हिरक जयन्तीलाई सम्बोधन गर्दै उहाँले अब दुर्गम गाउँका नागरिकले पहिलेको जस्तो दुःख नपाउने बताउनुभयो ।

पछिल्लो समय ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी बजार झर्ने र विदेश पलायन हुनेको सङ्ख्या बढ्दै गएपछि अब प्रदेश सरकारले गाउँमै रोजगार सिर्जना गरी आफ्नै ठाउँमा बस्ने वातावरण तयार गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । गाउँका सबै विद्यालयको स्तरवृद्धि गरी प्राविधिसँग जोड्ने गरी काम गरिरहेको उहाँले बताउनुभयो ।

“सहरबजारको नजिकका गाउँठाउँमा विकास भएको छ, तर सदियौँदेखि विकट मानिदै आएका ठाउँ अहिले पनि विकटै छन्, त्यस्ता ठाउँलाई प्रदेश सरकारले मुख्य प्राथमिकतामा राखेको छ, अब हरेक नागरिकलाई उत्पादनसँग जोड्ने कार्यक्रम ल्याइरहेका छौँ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “मुलुकलाई गाली गरे विकास हुँदैन, विकासका लागि सबै नागरिकले सरकारलाई साथ दिनुपर्छ, विकास हुँदै भएन भन्नु गलत हो ।”

अब हरेक युवा गाउँमै बस्ने बनाउनका लागि प्रदेश सरकारले उनीहरूले चाहेको पेसामा लाग्न प्रोत्साहन गर्ने र अनुदान तथा बजारीकरणको व्यवस्था गरिदिने पाण्डेले बताउनुभयो । विकास निर्माणका सन्दर्भमा स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारबीच समन्वयको जरुरी रहेको भन्दै प्रदेश सरकारले सानातिना योजनाका काम नगर्ने उहाँ बताउनुहुन्छ । साना योजना पालिका, मध्यम खालका प्रदेश र ठूला योजना केन्द्र सरकारले सञ्चालन गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिनुभयो ।
 
प्रदेश सरकारले पालिका, वडा र प्रदेश जोड्ने सडक निर्माण गर्ने भन्दै, स्थानीय पालिकाले स्रोत पहिचान गरी आन्तरिक स्रोत बढाउनतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो ।