अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गर्न नहुने: माओवादी केन्द्र सचिव पोखरेल

नेकपा (माओवादी केन्द्र)का सचिव लीलामणि पोखरेलले अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गर्न नहुने बताउनुभएको छ । 

    मेचीनगरमा आज आयोजित महेन्द्रद्वार सहकारी संस्थाको वार्षिक साधारणसभामा सचिव पोखरेलले मुलुकमा लाखौँको सङ्ख्यामा गरिखाने नागरिक सहकारीमा जोडिएका र त्यसबाट सङ्कलन भएको ठूलो पूँजी अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “घरजग्गाजस्ता अनुत्पादक क्षेत्रमा सहकारीले लगानी गर्नु हुँदैन ।

हिजो जसले अनुत्पादक क्षेत्रमा लगानी गरे, ती सहकारी अहिले सङ्कटमा छन् ।” सरकारले उत्पादनमूलक उद्योगमा लगानी गर्न चाहने सहकारीलाई अनुमति दिन आनाकानी गर्न नहुने उहाँको सुझाव थियो । उहाँले सहकारीलाई बलियो बनाउन ३८ वटा कानुन निर्माण गर्न आवश्यक भएको बताउनुभयो ।

    झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालले बैङ्क तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाउँदा उत्पादनशील क्षेत्रमा लगानी गरिनुपर्ने रकम बैङ्कहरुमा थुप्रिँदा सङ्कट उत्पन्न भएको वास्तविकता सुनाउनुभयो । 
 
    नेपाल बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष बिपी भट्टराईले सहकारी संस्थाहरुलाई बैङ्क र अरू वित्तीय संस्थालाई झैँ व्यवहार गर्न नहुने विचार व्यक्त गर्नुभयो ।

    सहकारी अभियन्ता भानु दङ्गालले सहकारीबाट ऋण लिएर नतिर्नेहरुलाई कालो सूचीमा राख्ने र कर्जा सूचना केन्द्रमा नाम समावेश गर्ने कानुनी व्यवस्थाको खाँचो आँैल्याउनुभयो ।