एनसेल बिक्री गरेको विषयले नेपाली राजनीतिमा तरंग

मलेसियन कम्पनी आजियटा ग्रुप बर्हादले ६ अर्ब रुपैयाँमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल बिक्री गरेको विषयले नेपाली राजनीतिमा तरंग ल्याएको छ। 

एक अर्ब ३१ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४३ अर्ब रुपैयाँ (एक डलर बराबर १०५ रुपैयाँ)मा खरिद गरेको सम्पत्ति आठ वर्षपछि आजियाटाले पाँच करोड डलर अर्थात् ६ अर्ब ६० करोड रुपैयाँ (एक डलर बराबर १३२ रुपैयाँ)मा बिक्री गरेर बाहिरिएको चर्चाले राजनीतिमा तरंग ल्याएकाे हाे।

एनसेलको खरिद-बिक्री सम्बन्धमा व्यक्त भइरहेका आशंकाका बीच सरकारदेखि संसदीय समितिले चासो व्यक्त गरेका छन्। बुधबार मात्रै दुई संसदीय समितिहरू सार्वजनिक लेखा समिति र अर्थ समितिले छलफल गरेका छन्। मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यही प्रकरणलाई लिएर विज्ञप्ति जारी गरेको थियो। साथै, मंगलबार नै सत्ता-गठबन्धनको बैठक पनि बसेको थियो।

 अर्थ समितिले एनसेलको सेयर बिक्री प्रकरणबारे १५ दिनभित्र विस्तृत जानकारी दिन निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले १५ दिनभित्र एनसेलको सेयर बिक्रीबारे विस्तृत जानकारी दिन निर्देशन दिएको हो ।

साथै, सेयर खरिद–बिक्रीको विस्तृत विवरण माग गर्दै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी जोखिमयुक्त रहेको प्रचारबारे यथाशीघ्र धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ। 

समितिले सरकालाई सेयर खरिदबिक्री सम्बन्धमा भएका कामहरूको विस्तृत विवरण के हो भन्दै प्रश्न गरेको छ ।  साथै नेपाल छोड्दै गर्दा आजियाटाले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी जोखिमयुक्त रहेको भन्ने भनाईको सम्बन्धमा सरकारको धारणा के हो भन्ने प्रश्न खडा गरेको छ । 

मंगलबार सरकारले एनसेलको सेयर खरिद-बिक्री सम्बन्धमा छानबिन गर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञप्ति जारी गर्दै छानबिनबाट कुनै अनियमितता भएको पाइएमा सरकारले सम्बन्धित सबैलाई कारबाही गर्ने जनाएकी थिइन्।

समितिले यस विषयमा छलफल गर्न समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै बोलाउने निर्णय पनि गरेको छ। एनसेलको खरिदविक्रीबारे ३० दिनभित्र छानबिन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले नेपालमा लगानीको वातावरण छैन भनेर प्रचार गर्ने आजियटा ग्रुपका सिइओलाई अर्थसमितिले पत्र काट्नुपर्ने बताए। 

अर्थ समितिमा आएर आजियटा ग्रुपका सिइओले नेपालको लगानीको विषयमा जानकारी दिनुपर्ने वाग्लेले उल्लेख गरे। ‘एनसेलको विक्रीले उजागर गरेका आर्थिक कुशासन लगानी विकर्षण बारे बृहत् नीतिगत समीक्षा आवश्यक भएको देखिन्छ। आजियटा कम्पनीको सिइओलाई नै अर्थ समितिले पत्र काट्नुपर्छ। त्यसका लागि कस्तो सहयोग चाहिन्छ हामी तयार छौं’‚ उनले भने।

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल खरिदबिक्रीमा कर छल्नेमाथि तत्काल कारबाही हुनुपर्ने माग गरेका छन् । उनले समिति गठनको आवश्यकता नै नरहेको तर्क गरे । 

‘एनसेल प्रकरणमा कयौँ राजनीतिक दलहरूको संलग्नता हुन सक्छ । त्यहाँ कयौँ कुरा हुन सक्छ । त्यो एउटा छानबिनको विषय हो । तर अहिले जुन खरिदबिक्री भएको छ, भएको हो की होइन ? होइन भने किन बबाल गरेको ?' लामिछानेले भने, 'हो रहेछ भने सरकारले त्यसबापत प्राप्त गर्नुपर्ने कर रकम पायो की पाएन ? पाएको छैन भने त्यो गैरकानुनी हो की होइन । गैरकानूनी हो भने सत्ता गठबन्धन, सर्वदलीय बैठक बस्ने की छल्ने मानिसलाई गएर समात्ने हो ? यो बेकारको नाटक हो ।'

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट भ्रातृसंगठन अनेरास्ववियुले टेलिकम सेवा प्रदायक संस्था एनसेलकाे मुख्यालय अगाडि प्रदर्शन गरेको थियाे। अनेरास्ववियुले एनसेलको शेयर खरिद-बिक्रीमा चलखेल भएको भन्दै प्रदर्शन गरेकाे हाे।

प्रदर्शनमा सहभागीहरूले ‘माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद’, ‘विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर’, ‘नीतिगत भ्रष्टाचार गर्न पाइँदैन’, ‘एनसेलकाे आयव्यव सार्वजनिक गर’, ‘एनसेललाई राष्ट्रियकरण गर’ जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।