प्रतिबन्ध लगाइएकाे टिकटक सरकारले फेरि खाेल्न लागेकाे हाे?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बन्द भएको टिकटक विस्तारै खोल्न सकिने बताएका छन् ।

उनले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी कानुन बनाएर टिकटक खोल्नेबारेमा सरकार सकारात्मक भएको बताएका थिए ।  उनले प्रतिपक्षी दल र सत्ता पक्षकै दलहरुको चाहनाअनुसार सरकारले टिकटकमाथि तत्कालका लागि प्रतिबन्ध लगाएको दाबी गरे ।

अब नियमन गर्न पनि सकिन्छ’, सोमबार मूलधारका मिडियाका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्रीले भने, ‘बिल तयार हुँदैछ कहीँ कतै करेक्सन गर्न सकिन्छ भने गरिन्छ ।’

‘प्रमुख दलहरूको प्रायः सबै बैठकमा सबैजसो नेताहरूले टिकटकका कारण समाज विकृत हुँदै गएको, अनेकन समस्या उत्पन्न भएको भन्दै बन्द गर्न लगातार सुझाव दिने गर्नुभएको थियो,’ प्रधानमन्त्रीले भने, ‘कांग्रेस सभापति देउवाजी शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीजी केपी शर्मा ओलीजीले पनि बन्द गर्न ढिला गर्न नहुने सुझाव दिने गर्नुभएको थियो। त्यसैले पनि सरकार यो निर्णयमा पुगेको हो।’ 

उनले एमाले अध्यक्षले त टिकटक बन्द गर्न ढिला गरे देशै खत्तम हुने अवस्थामा पुग्ने भन्दै झकझक्याएको पनि सुनाए। 

टिकटकको विषयमा आफूले प्रदेश–प्रदेशमा गएर नागरिकका आवाज पनि सुनेको र नागरिकले नै सरकारले यसलाई बन्द गरिदेओस् भन्ने गरेका प्रसङ्ग उल्लेख गर्दै उहाँले यसबाट बहुसङ्ख्यक नागरिक टिकटक बन्द भएकोमा नै खुशी रहेका बताए ।

टिकटकमा सामाजिक सद्भाव बिथोलिने गतिविधिहरू बढ्दै गएपछि सरकारले गएको कात्तिक २७ गते प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।