सरकारले लगानी सम्मेलनको घोषणा गरेका बेला बाहिरिँदै विदेशी लगानी, एनसेलबाट आजियाटा बाहिरिँदा के असर गर्छ ?

नेपालको अर्थतन्त्र मन्दीमा गएको दुई वर्ष भयो । यो अवधिमा विदेशी लगानी भित्रिने त परको कुरा स्वेदशमै लगानीको वातावरण भएन । उद्योग, व्यवसायी हात  उठाएर बसेका छन् । नेपालमा लगानीको वातावरण रहेको र लगानीमैत्री अवसर सृजना गर्ने भन्दै सरकारले आगामी वैशाखमा लगानी सम्मेलनको घोषणा गरेको छ । आगामी ९ र १० वैशाखमा तय भएको तेस्रो लगानी सम्मेलन विदेशी लगानीमा मात्रै केन्द्रित नभएर स्वदेशी, गैरआवासीय नेपालीलाई पनि लक्षित गर्न खोजिएको छ । 

सम्मेलनको तयारीका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्देशक समिति बनाइको छ । परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन, कृषि तथा पशुपक्षी विकास र सहरी विकास मन्त्रालयका मन्त्रीहरू सदस्य रहने व्यवस्था छ ।

मन्त्री महतले सक्षम लगानीकर्तासमक्ष प्रस्ताव राख्ने, त्यस्तो लगानीकर्ताको लगानी सुनिश्चित गर्ने तथा लगानी प्रतिबद्धतालाई अनुगमन (फलोअप) गर्ने र रियलाइजेसन गर्ने उद्देश्य रहेको बताइरँदा नेपालमा ठूलो लगानीकर्तामध्येको एउटा आजियाटा समूहले एनसेलबाट हात झिक्ने घोषणा गरेको छ । 

एनसेलमा मलेसियाको आजियाटा ग्रुप बर्हाडको ८० प्रतिशत सेयर स्वामित्व छ । बाँकी २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर प्रालिको छ। सुनिभेरा एनसेलका लागि आजियाटा समूहको स्थानीय साझेदार हो।
 

एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ । एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले यो आर्थिक वर्षको हालसम्म आजियाटाको खुद घाटा १ अर्ब ३० करोड मलेसियन रिंगिट पुगेको कम्पनीका ग्रूप सीईओ तथा प्रबन्ध निर्देशक विवेक सूदले गरेको प्रस्तुतिमा उल्लेख छ । एनसेलको ८० प्रतिशत सेयर ७ वर्ष अगाडि टेलियासोनेराबाट आजियाटाले किनेको थियो ।

एनसेलको २०२२ को कुल आम्दानी १ अर्ब ५ करोड मेलेसियन रिंगिट रहेको आजियाटाले जनाएको छ । जुन सन् २०२३ मा घटेर करिब ९८ करोड मेलेसियन रिंगिटमा झरेको छ । आजियाटाको लगानी रहेको ग्रुपको आम्दानी उक्त वर्षमा समग्रमा १३ प्रतिशतले बढ्दा एनसेलको भने ७ प्रतिशतले घटेको उल्लेख गरेको छ । सन् २०२२ मा एनसेलले ११ करोड ७० लाख मलेसियन रिंगिट नाफा आर्जन गर्दा २०२३ मा उक्त नाफा घटेर ३ करोड ४० लाख रिंगिटमा झरेको आजियाटाको विवरणमा उल्लेख छ ।

प्रबन्धक निर्देशक सुदले ‘नेपालमा चुनौती थपिँदै गएकोले बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको र सोहीअनुसार एनसेललाई बिक्रीमा राखिएको’ बताएका छन् ।  नेपालमा चुनौती रहेको भनेपनि उनले नेपालमा एनसेलले व्यावसायिक बाहेक अन्य कस्तो चुनौतीको सामना गर्यो भन्ने विषयमा खुलाइएको छैन ।

पूर्वअर्थसचिव रामेश्वर खनाल सरकारले लगानी सम्मेलनको घोषणा गरेका बेला आजियाटाले एनसेलबाट हात झिक्ने निर्णय गर्नु चुनौती रहने बताए ।  उनका अनुसार व्यावसायिक हिसाबले एउटा कम्पनीले अर्को कम्पनीलाई आफ्नो सम्पत्ति बेच्न खोज्नु सामान्य प्रकृया हो । ‘विज्ञप्तिमा मलेसियाको आजियाटाको प्रमुखले नेपालमा काम गर्न सहज नभएको भन्ने जुन शब्द प्रयोग गरेका छन्, त्यसले भने केही गम्भिर संकेत गर्छ,’ उनले भने ।