बेथानचोकका विद्यार्थीले यन्त्रमानव बनाए

काठमाडाैँ, ९ मङ्सिर : काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका विद्यार्थीले ‘रोबोटिक’ तालिम  लिएर विभिन्न किसिमका विद्युतीय सामग्री बनाएका छन् । इञ्जिनियरिङ सङ्कायका मेधावी विद्यार्थीबाट कक्षा ९, १० ११ र १२ का  विद्यार्थीले तालिम लिएपछि उनीहरूले यन्त्रमानव (रोबट) बनाएर शुक्रबार गाउँपालिकाको प्राङ्गणमा प्रदर्शन गरेका हुन् ।

 विद्यार्थीले बनाएका विद्युतीय खेलौना, स्मार्ट कार, फोहर फाल्ने भाँडो र विद्युतीय बल्बलाई ‘एप’ निर्माण गरी त्यसलाई विद्युत्को माध्यमबाट अनुकूलतामा चलाएर प्रदर्शन गरेका हुन् । बेथानचोक गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थी सन्दीप तामाङले तीन दिनसम्म तालिम लिएर स्मार्ट कार बनाएर आफू अनुकूलतामा चालाउन सक्ने बनेको बताउनुभयो । “बनेका स्मार्ट कारलाई विद्युतीय माध्यमबाट चलाउने र त्यसलाई नियन्त्रण गर्नसक्ने सीप सिक्न सफल भएँ ।” उहाँले भन्नुभयो ।

भीमसेनेश्वर माध्यमिक विद्यालयका अर्का विद्यार्थी रोज खत्रीले तालिमबाट नयाँ ज्ञान लिन पाएकोमा खुसी लागेको बताउनुभयो । कालिका माध्यमिक विद्यालयका रोजन तामाङले बनाउन सिकेको सामग्रीलाई प्रयोगमा ल्याएर सुविधा उपभोग गर्न प्रेरित गरेको बताउनुभयो ।

अर्का विद्यार्थी अर्पणा तामाङले तालिमबाट घरको छतमा राखिएको पानी ट्याङ्कीमा पानी सकिएको र त्यो भरिएको जनाउ दिने ‘साइरन’ जडानको सीप सिकेको बताउनुभयो । 
गुजारतमा इलेक्ट्रिकल इञ्जिनियरिङ अध्ययनरत तालिमका प्रशिक्षक प्रसान्तकुमार चौधरीले विद्यार्थीलाई ब्ल्युटुथ कन्ट्रोल कार, ब्याट्रीबाट चलाउन मिल्ने गाडी, स्मार्ट डस्टविन र स्मार्टहोम अटोमेसिन बनाउने विधि र प्रविधिको बारेमा ज्ञान दिएको बताउनुभयो ।

विद्यार्थीलाई उनीहरूको तहगत कक्षाअनुसार प्रविधिको बारेमा ज्ञान दिएको राससलाई बताउनुभयो । 
वेथानचोक पालिकाका अध्यक्ष भगवान् अधिकारी हरेक विद्यार्थीलाई फुर्सद हुँदा चिया चौतारीमा गफ गरेर  समय बिताउने नभई प्रविधिको क्षेत्रमा पनि बालबालिकालाई उत्प्रेरित गर्ने उद्देश्यले प्रशिक्षाणको व्यवस्था गरिएको  बताउनुहुन्छ । 

तालिममा आधारभूत र माध्यमिक तहका विज्ञान शिक्षक÷शिक्षिका र कक्षा ८ देखि १२ सम्मका ४० जना विद्यार्थीलाई तालिममा सहभागी गराइएको थियो ।