विचारः मानव सेवा नै सर्वोत्कृष्ट धर्म
आनी छोइङ् डोल्मा
काठमाडौँ, ५ मङ्सिर : मानिसको धर्म नै मानवता हो । मानिसमा हुनुपर्ने मानवीय गुणको विकास र पूर्णतालाई नै मानव धर्म भनिन्छ । धर्म भनेको सम्पूर्ण प्राणीको कल्याण गर्नु हो ।
मानव सेवाबाट नै धर्म प्राप्तिको ढोका खुल्दछ । सेवा यति नै गर्नुपर्छ भन्ने छैन, इमान्दारी र खुसीपूर्वक गरिने पुण्य जति पनि कार्य छन्, ती सबै धर्म हुन् । सेवा भनेको जति सकिन्छ, त्यति गर्ने हो, मात्र पवित्र आशय राख्नुपर्छ ।
बुद्ध धर्ममा लागेको र बुद्धका अनुयायी भएर एउटा सत्कर्मको बाटोमा लागेर आफूले पाएको सङ्गीतको माध्यमबाट जसरी आफूलाई र अरूलाई खुसी दिन सकेको छु त्यसैमा आफू रमाइरहेको छु र यसबाट नै जीवनको सार्थकता पुष्टि हुन्छ भन्ने लाग्दछ ।
जीवन सार्थक बनाउने बाटो तब भेटाइन्छ, जब आध्यात्मिक चिन्तन मनन् गर्न सकिन्छ । आध्यात्मिक हुनु भनेको एकदम धार्मिक हुनु, मठमन्दिरमै गएर जप गर्नुपर्छ भन्ने होइन, आफ्नो धर्म संस्कृतिको सार बुझेर आफ्नो जीवनलाई अगाडि बढाउनु हो ।
समाजमा एक÷दुईजना खराब भए भन्दैमा सबैलाई खराब ठान्नु हुँदैन । नुहाउने बेलामा एक जग पानीसम्म बढी खेर गयो भने पनि मलाई नरमाइलो लाग्छ । म कमाएको थोपा थोपा जोगाउँछु । भिक्षु भएकीले पनि होला मलाई धेरैले परिश्रमिकभन्दा पनि दक्षिणा बढी टक्र्याउने गर्छन् ।
सङ्गीत मेरा लागि साधना हो र आर्थिक उपार्जन गर्ने साधन पनि हो । हामीसँग भएको जति पनि भौतिक सम्पत्ति छ, त्यो अरूलाई नै दिने हो किनकि हिजो त्यो मसँग थिएन र भोलि पनि मसँग रहँदैन । सुखी र खुसी फरक कुरा हो ।
खुसी क्षणिक चीज हो, सुखी वास्तविकताको बुझाइ हो । शरीरको आयु बढ्दै जाँदा यसको शक्ति पनि कम हुँदै जान्छ । सायद यसैले होला आजकल मलाई कसैसँग पनि नराम्रो बोल्न त के सोच्न पनि नपरोस् भन्ने लाग्छ । भौतिक सुख समृद्धिका लागि आफ्नो लागिमात्र केही गरौँ भन्ने भावनाभन्दा माथि उठेर अरूको कल्याणमा समर्पित हुन पक्कै पनि धेरैलाई सजिलो नहुन सक्दछ ।
धर्तीका सन्तान हुन् मानव जाति । मानवजस्तो अत्यन्त विकसित, महत्वपूर्ण र मूल्यवान् धर्तीको उपज, सृष्टि, त्यसले यही धर्तीमा भौँतारिएर बाँच्नुपर्ने, सहाराविहीन हुनुपर्ने, गाँस–बास–कपासको प्रबन्ध, हेरविचार हेरचाह, बन्धुत्व, मित्रता केही पनि नपाएर बस्नुपर्ने जस्ता कुरा मानव समाजका लागि पटक्कै शोभनीय कुरा होइनन् ।
जीवनमा हामीले खोजेको माया र प्रेम हो । प्रेमको अभावमा संसारमा जति पनि दुर्घटना भएका छन्, चाहे त्यो रोग वा घटनाहरु हुन् । मनुष्यले मात्र होइन, कसैले पनि पीडा चाहेको हुँदैन । यस धर्तीमा रहेका सबै प्राणीले सुख शान्ति नै चाहेका हुन्छन् ।
आजको कलियुगमा यस्तै पखाण्डीपनको व्यापक प्रभाव छ । आफ्नो मानमर्यादा तब हुन्छ, जब अरूको दुःख बुझ्न सकिन्छ र अरूको कल्याण हुने काम गरिन्छ । गोली रोपेर फूल फुल्दैन, सेवाको बीउ रोपे शान्ति र सुख फल्छ । कसैलाई होच्याएर आफूमाथि पुग्न सकिँदैन ।
फूलको आँखामा फूलै संसार गीत नसुन्ने र नगुनगुनाउने सायदै होलान् । मैले गाएको सो गीतको लाइभ कन्सर्टको आनन्द भने नेपालीले भन्दा विदेशीले बढी लिने गरेका छन् । मेरो गीत नचाउने र उफार्नेभन्दा पनि आँखा बन्द गरेर अनुभूति गर्ने खालको हुने गर्छ । मेरा गीत सुन्नेहरु भन्छन्, गीतमा शास्त्रको सार भेटिन्छ । एकछिन् आँखा चिम्लेर गीत सुने आनन्दको अनुभूति मिल्छ । सङ्गीतमार्फत संसारलाई सकारात्मकता र आध्यात्मिकतातर्फ डो¥याउने कोसिस गरिरहेको छु ।
भूकम्पबाट आश्रयविहीनलाई संरक्षकत्व
भूकम्पका कारण भएको क्षतिले गर्दा उनीहरुको बसोबासको अधिकार, खाद्यान्नको अधिकार, सम्पत्तिको अधिकार, सीमान्तकृत वर्ग, समुदाय, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरूको अधिकारमा गम्भीर आघात पुगेको छ ।
यस प्राकृतिक विपद्मा परी अभिभावक गुमाएका बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी यस्तो अवस्थामा थप जोखिममा पर्दछन् । राहत प्राप्त गर्ने कुरामा पनि यी वर्गका मानिसको पहुँच कम हुन्छ ।
यतिबेला भूकम्पप्रभावितहरुलाई सरकारी, गैरसरकारी र निजी तवरबाट पनि राहत, उद्धार र पुनःस्थापनामा सहयोगहरु जुटिरहेको छ । राष्ट्रिय अन्तर्राष्ट्रियस्तरबाट सहयोगी मनहरुले सक्दो सहयोग गर्न इच्छा व्यक्त गर्नुभएको छ ।
यसलाई सस्तो प्रचारका रुपमा नभई विशुद्ध मानवीय सेवाको रुपमा गर्न सकिएमा पीडित व्यक्तिले साँच्चिको सहयोग पाएको अनुभव गर्न सक्नेछन् ।
मेची–महाकाली अभियान सञ्चालन
‘यस वर्षको दसैँ, तिहार, छठजस्ता नेपालीहरुका ठूला चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनले गत असोज २७ देखि यही मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गरेको थियो । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरुको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै दसैँ, तिहार, छठजस्ता पर्वहरु मनाउने गरी सो अभियान सञ्चालन गरिएको थियो ।
यसपटक यस अभियानलाई अझ प्रभावकारी बनाउन म आफैँ पनि सहभागी भएको थिएँ । अभियानमा लाग्ने सम्पूर्ण खर्चको व्यवस्थापन पनि आनी छोइङ डोल्मा फाउन्डेसनले नै व्यहोरेको थियो । मानव सेवाभन्दा अर्को महान् धर्म केही नभएकाले आफू पनि यस अभियानमा जोडिएको थिएँ ।
हाम्रो परिवारकै सदस्यहरुलाई कसरी सडकमा पठाइरहेका छौँ भन्ने देख्दा समाज कतातिर जाँदैछ, मानवता कसरी नासिँदैछ भन्ने अनुभव भएको छ । मानव सेवाभन्दा अर्को महान् धर्म केही नभएकाले आफू पनि यस अभियानमा जोडिएको छु । मानिसका गलत सोच, व्यवहारलाई सुधार गर्नु पनि समाज सेवा नै हो । सकारात्मक सन्देश दिन र राम्रो कामको देखासिकी गराउन यस्ता अभियानहरु सार्थक रहनेछन् ।
हामीले आफ्ना जन्मदिनमा अथवा आफ्ना विवाहका वार्षिकोत्सवमा अथवा छोराछोरीका सफलताका घडीहरूमा खुसी मनाउँदा मानव सेवा आश्रमजस्ता मानवीय संस्थाहरूलाई सहयोग पु¥याउने र यस्ता संस्थामार्फत मानव सेवामा आफ्नो पनि सहभागिता जनाउन सक्दछन् ।
मानिस चाहे शारीरिक अपाङ्गता, चाहे अशक्तता, बाध्यता अथवा गरिखान नसक्ने बाल्यकाल, मानसिक अस्वस्थता, प्राकृतिक विपत्ति अथवा अरू जेसुकै कारण भए पनि कोही पनि मानिस मानवोचित जीवनबाट वञ्चित हुनु हुँदैन । त्यो हुनु भनेको समाजकै अविकसित स्थितिको परिचायक हो । त्यस स्थितिबाट समाजलाई माथि उठाउनैपर्छ ।
धार्मिक सद्भावको खाँचो
मानिसमा नभई नहुने अर्को महत्वपूर्ण कुरा हो, परोपकारको भावना । परोपकार नै ठूलो धर्म हो । गरिब, असहाय, दीनदुःखीको सेवा हामी सबैले गर्नुपर्छ । उनीहरूको सेवा गर्नु नै भगवान्को सेवा गर्नु हो भन्ने गरिन्छ, मानव सेवा नै माधव सेवा हो । संसारमा भएका सबै धर्मले यही भन्छ । विश्वमा जति पनि धर्महरु छन्, ती सबै मानिसले अनुशरण गरेका अभ्यासहरु हुन् । सबैको उद्देश्य एउटै छ । धर्मको नाममा झगडा गर्नुको कुनै अर्थ छैन । यसै सन्दर्भमा मेरो एउटा गीत पनि छ ः
धर्म न हिन्दू हो न बौद्ध हो
शिख न जैन
धर्म चित्तको शुद्धता
धर्म शान्ति सुख चयन ।
मानव मानवबीचमा
रत्ति नराखी भेद
गर्छ सबैको जो भलो
त्यो नै धर्म सफेद ।
सम्प्रदाय न त धर्म हो
धर्म न छेकबार
धर्म सिकाओस् एकता
धर्म सिकाओस् प्यार ।
सर्वप्रथम बालकले यो धर्तीमा जन्म लिँदा मानव भएर जन्मेको हुन्छ र मानव हुनुको नाताले ऊसँग स्वतः मानव धर्म जोडिएर आएको हुन्छ, जुन व्यापक, सनातन र सत्य हुन्छ ।
फलतः मेरो ईश्वर यो, मेरो धर्म यो, अर्काको धर्म त्यो भनी भागबन्डा गर्न थाल्दछ र आफूलाई जातीय सङ्कीणर्ता, सम्प्रदायवाद अनि क्षेत्रवादसँग गाँसेर आफ्नो व्यापक परिचयलाई सङ्कुचित बनाउन थाल्दछ ।
यसरी हामी आफैँले आफैँलाई धर्म, सम्प्रदायको घेराभित्र सीमित गरेका छौँ, जसका कारण कोही भन्दछौँ– म हिन्दू हुँ, म मुसलमान हुँ, म इसाई हुँ, म शिख हुँ, म बौद्घिष्ट हुँ । तर हिन्दू, मुस्लिम, शिख, इसाई अथवा बौद्घिष्ट हुनुभन्दा पहिले हामी मानव हौँ र मानव हुनुको नाताले मानवको वास्तविक धर्म मानवीय धर्म हो, अर्थात् मानव धर्म हो ।
आज विश्वलाई यही अवस्था चाहिएको छ । (आनी छोइङ डोल्मा फाउन्डेशनकी अध्यक्ष आनी छोइङसँग राससका आलेख प्रमुख कृष्ण अधिकारीले गर्नुभएको कुराकानीमा आधारित)
प्रतिक्रिया