पोखरा महानगरमा छोराद्वारा खुर्पा प्रहार गरी बाबुको हत्या

पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटा गोधुली संसार पथमा छोराले धारिलो हतियार खुर्पा प्रहार गर्दा बाबुको ज्यान गएको छ । हिजो दिउँसो २२ वर्षीय रविन क्षेत्रीले खुर्पा प्रहार गर्दा ५२ वर्षीय रामु क्षेत्रीको ज्यान गएको हो ।

रविन क्षेत्रीले खुर्पा प्रहार गरी बाबुको हत्या गरेको कास्कीका प्रहरी प्रवक्ता श्रवण विकले जानकारी दिनुभयो । खुर्पा प्रहार गरी घाइते बाबुको चरक मेमोरियल अस्पताल पोखरामा उपचारका क्रममा ज्यान गएको हो ।

बाबुको हत्या गरी फरार भएका रविनलाई जिल्ला प्रहरी कार्यालयले अन्य जिल्लामा हुलिया, फोटो सहितको खोजतलासको सूचना जारी गरेको थियो । त्यसकै आधारमा पाल्पा प्रहरीले पाल्पाको प्रभासमा ग२०प ६०४७ नम्बरको मोटर साइकल सहित नियन्त्रण लिएको प्रहरीले बताएको छ ।