टेरामक्समा मन्त्रीदेखि सचिवसम्म को-को तानिदै छन् ?

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अर्बौ खर्च गरेर खरिद गरेको टेरामक्स प्रविधिलाई प्रयोग गर्नुपर्नेमा त्यसलाई प्रयोग गर्न नदिने तत्वहरू लागिपरेका छन् ।

एनसेलले बार्षिक २५ अर्ब रुपैयाभन्दा बढी राजश्व घाटा लगाइरहेका बेला सो प्रविधि सरकारी कार्यालयमा थन्क्याएर राखिएका छन् ।यतिबेला यो प्रविधि जडान गर्नुको साटो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विस्तृत छानबिनमा छ । अख्तियार स्रोतका अनुसार टेरामक्स प्रविधि खरिदसँग जोडिएका अधिकांश कर्मचारीसँग एक चरणको बयान लिने काम सकिएको छ ।

अख्तियारले टेरामक्स प्रविधि खरिद प्रक्रियामा अब लिने बयानमा उच्च पदस्थहरू तानिने उच्च सम्भावना बढेको स्रोतको दाबी छ । टेरामक्स प्रविधि खरिदमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, मुख्यसचिव बैकुण्ठप्रसाद अर्याल, संघीय मामिला तथा सामान्य प्रशासनसचिव विनोद प्रकाश सिंह, खरिद सम्झौता हुँदाका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत संलग्न छन् टेरामक्स प्रविधि खरिद प्रक्रिया अगाडि बढाउँदा हालका स्वास्थ्यमन्त्री बस्नेत सञ्चारमन्त्रीको भूमिकामा रहेका थिए । त्यो बेला सञ्चार सचिवको भूमिकामा महेन्द्रमान गुरुङ र नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा दिगम्बर झा रहेका थिए ।

उनीहरूको पालामा सुरु भएको टेरामक्स प्रविधि खरिद प्रक्रिया सञ्चारमन्त्रीको भूमिकामा ज्ञानेन्द्रबहादुर कार्की, सचिवको भूमिकामा बैकुण्ठप्रसाद अर्याल र नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा पुरुषोत्तम खनाल हुँदा खरिद सम्पन्न र आधा रकम भुक्तानी भएको पाइएको छ ।

खासगरी एनसेलको पैसा बाहिर गएको देखिएपछि टेलिकम्यूनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम ९टेरामक्स० जडान गर्न लागिएको थियो । टेरामक्स प्रणाली काठमाडौँको चाबहिल र हेटौँडामा सेकेन्डरी डाटा सेन्टर ९जीआईडीसी० राखिएको थियो । तर, यी सबै काम अलपत्र परेका छन् ।

यो योजनाको कूल लागत २३.७ मिलियन अमेरिकी डलर छ ।

दुई चरणमा हुने कामको पहिलो चरणमा आयोजनाको डिजाइन, विकास र प्रणाली जडान रहेको छ । दोस्रो चरणअन्तर्गत जडानकर्ता कम्पनीले आगामी ५ वर्षसम्म यो प्रणालीको व्यवस्थापनसमेत सोही कम्पनीले गर्ने भएपछि जडान प्रकृया अन्तिम चरणमा पुगेका बेला विवाद ल्याइएको थियो ।

टेरामक्सले टेलिकम्यूनिकेसन्स ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम भएकाले यसले टेलिकम कम्पनीहरूले दिने सेवामाथि गहन रूपमा निगरानी गर्छ । जसका कारण राज्यलाई बुझाउनुपर्ने कर समेत बढी हुनेछ ।

टेलिकम कम्पनीहरूमा अनधिकृत फोनकल बाइपासमाथि पूर्ण रूपमा निगरानी राख्ने यो प्रविधिले राष्ट्रिय र अन्तर्राष्ट्रिय भ्वाइस डाटा ट्राफिक भोल्यूमको परीक्षणसमेत गर्नेछ । यस्तै, कल रेकर्ड ९सीडीआर० विश्लेषण गर्नेछ र यसबाट फ्रड पत्ता लाग्नुका साथै भ्वाइस ट्राफिकको अवस्थाबारे जाँच्न सहज हुने प्राधिकरणले जनाएको छ ।

यो प्रविधिले विदेश र स्वदेशबाटै अनधिकृत रूपमा हुने कल बाइपासको निरीक्षणसमेत हुने र यसबाट टेलिकम कम्पनीले गर्ने कर छलीबारे जानकारी राख्छ । टेलिकम कम्पनीहरूले दिने सेवाको गुणस्तरको परीक्षणसमेत टेरामक्स प्रविधिले गर्ने दूरसञ्चार प्राधिकरणले जनाएको छ । खासगरी, अन्तर्राष्ट्रिय स्तरमा कल बाइपास गर्न लगाएर टेलिकम कम्पनीहरूले राजस्व छल्ने गर्छन् ।

यस्तै, थोरै समयको सेवा दिएर धेरै समयको सेवा शुल्क काट्नुका साथै एउटा गुणस्तरको सेवा दिने भनेर लिएको शुल्कमा गुणस्तरहीन सेवा प्रदान गर्ने गरेका छन् ।