नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठक बस्दैछ । प्रदेश सभा बैठक बस्नुअघि एमालेको प्रदेश सभा संसदीय दलको बैठक बस्न लागेको हो ।

बैठकमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायमै राख्नेबारे छलफल गर्नेछ । एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती भण्डारीले दलको बैठकको निर्णय अनुसार समर्थन फिर्ता लिने नलिने टुंगो लाग्नेछ ।

कांग्रेसको शेखर समूहका नेता केदार कार्कीलाई मुख्यमन्त्री बनाउन सहयोग गरेको एमालेले आफ्नो चाहनाविपरीत सत्ता गठबन्धनका दुई मन्त्री सरकारमा समावेश गरेपछि आफ्नो पार्टीबाट मन्त्री बनेका रामबहादुर मगरलाई फिर्ता बोलाइसकेको छ ।

गठबन्धनबाट मन्त्री बनाएपछि उसले आफूहरू गठबन्धनमा रहन नसक्ने भन्दै समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ ।