देश विपदमा हुँदा राष्ट्रपति पौडेव १० करोड खर्चेर किन युरोप घुम्न जाँदै छन् ?

देश अहिले राष्ट्रिय विपदमा छ । इजरायलमा हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीले ज्यान गुमाइसकेका छन् भने एकजना विपिन जोशीलाई हमासको नियन्त्रणबाट मुक्त गर्न सकिएको छैन । यस प्रकरणमा सरकारको कूटनीतिक कमजोरी पनि छताछुल्ल भएको छ । किनभने सुरुमै उत्तेजक अभिव्यक्ति नदिएर कतारमार्फत् पहल गरेको भए हमासले नेपाललाई तारो बनाउन सक्थ्यो र क्षति पनि कम गर्न सकिन्थ्यो । अन्य शक्तिराष्ट्रहरूले पनि कूटनीतिक पहलमार्फत् कतिपय आफ्ना नागरिक मुक्त गरेका छन् । त्यसतर्फ नेपालको ध्यानै छैन ।

यही बेला कतारी राजा नेपालले भ्रमणका लागि तय गरेको भ्रमण रद्द गरेका छन् । यो नेपालको अर्को कूटनीतिक विफलता हो । हाम्रा शासकहरूको चरम लापरवाही र बच्कनापन हो । उनी नेपाल नआउँदा हल्लाखल्ला गरेर जस लिने होडबाजीमा स्वयं प्रधानमन्त्री नै लाग्दा कतारी राजाको नेपाल भ्रमण स्थगित भएको हो । 

देशका लागि आवश्यक ठाउँमा हुनुपर्ने पहलकदमीका ठाउँमा यो हालत छ । तर हाम्रा राष्ट्रपति रामचन्द्र पौडेल भने कात्तिक २२ गते १० दिने युरोप भ्रमणमा जाँदै छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरिसकेको छ । फ्रान्सको राजधानी पेरिसमा एउटा एनजीओले गर्न लागेको ‘पेरिस पिस फोरम’मा भाग लिन जान लागेका उनले जर्मनी र इटालीको पनि भ्रमण गर्ने तालिका तय गरिएको छ । युरोपका तीन देश घुमेर मंसिर १ गते मात्र उनी स्वदेश फर्किने कार्यक्रम छ ।

राष्ट्र प्रमुखले युरोप सयर गर्ने योजना बनाइरहँदा यता देशले भने ठूलो विपत्तिको सामना गर्नुपरेको छ । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा अकल्पनीय जनधनको क्षति भएको छ ।

यस्तो बेलामा राष्ट्रपति विदेश भ्रमणमा नहुने भनेर सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भइहरेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार टीकाप्रसाद ढकालले समेत भ्रमण स्थगन गर्नु उचित हुने बताएका छन् । 


गाजामा इजरायल–प्यालेस्टिनी तनाव चर्किएका बेला कतारी राजाले नेपाल भ्रमण स्थगन गरेको सन्दर्भ स्मरण गराउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्-

‘निकै पर गाजामा युद्ध हुँदा कतारका राजाले हाम्रा प्रधानमन्त्रीबाट नै घोषणा गरिएको पूर्वनिर्धारित नेपाल भ्रमण स्थगन गर्नुभएको ताजै छ। एक हप्ता पनि बितेको छैन। आज हाम्रा राष्ट्रपतिज्यूलाई विनम्रतापूर्वक मेरो अनुरोध छ– हस्तिनापुरलाई अचानक भूकम्पले नराम्ररी क्षतिग्रस्त तुल्यायो । धृतराष्ट्र बन्नबाट जोगिने ठूलो उपाय छ– भोलि कि पर्सदेखि हुने भनिएको युरोप भ्रमणमा नजाने घोषणा गर्नुहोस् । तीन देशको भ्रमणमा हुने करिब १० करोड बराबरको खर्च भूकम्प प्रभावित जनताको राहत र उद्धारमा लगाउने घोषणा गर्नुहोस् । यसबाट थोरै भए पनि गणतन्त्रको इज्जत बच्छ । युरोपेली मित्रहरू लोकतान्त्रिक हुन्, उनीहरूले कुरो बुझिहाल्छन् । यस्तो बेला भ्रमणमा निस्कँदा आतिथेय मुलुकमा न मुलुकको प्रतिष्ठा बढ्दछ, न हाम्रो गणतन्त्रको।’

सामाजिक सञ्जालमा जतिसुकै आलोचना भए पनि राष्ट्रपति पौडेलले यो भ्रमणमा पुनःविचार गर्ने कुनै संकेत गरेका छैनन् । शीतलनिवासको उनको भ्रमणमण्डली शनिबार दिनभर किनमेलमा व्यस्त थियो ।

हालै मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल १५ दिनसम्म अमेरिका र चीन घुमेर करिब ३० करोड रुपैयाँ सकेका थिए । अहिले राज्यको ढुकुटीबाट १० करोड रुपैयाँ सकेर राष्ट्रपति पौडेल युरोप घुम्न जाँदै छन् । एउटा गरीब देशका लागि योभन्दा ठूलो विडम्बना के हुन सक्छ ?

रोम जलिरहेको छ, निरो बाँसुरी बजाइरहेछ भन्ने उक्तिलाई चरितार्थ गर्न राष्ट्रपति पौडेल आफै रोम गएर रमाउने कुरा निकै असंवेदनशील पनि छ । राष्ट्रपति भन्ने संस्था र नयाँ संविधान अनि व्यवस्थाप्रति नै वितृष्णा जगाउन स्वयं राष्ट्रपति नै लागेका छन् । उनी स्वयं र उनका वरिपरि बस्नेहरुका झिनामसिना लोभमोहका कारण व्यवस्था नै खतरामा पर्नु झनै खेदजनक विषय हो ।

यसै पनि रिगल र रेशम चौधरीहरुलाई गम्भीर मानवताविरोधी अपराधमा पनि राजनीतिक पक्षधरताका आडमा माफी दिँदा यो संस्था बदनाम भइरहेको छ । अदालतले समेत राष्ट्रपतिको नैतिकतामाथि प्रश्न उठाइरहेको छ । त्यसमाथि देशै विपदमा फसेका बेला पौडेलको युरोप घुम्ने रहर उनीभित्र शासकीय निरंकुशता र संवेदनहीनता पराकाष्ठामा पुगेको देखिन्छ । यसले जनतामा व्याप्त असन्तुष्टि र वितृष्णालाई अझै विष्फोटक बनाउने निश्चित छ ।