मिडिया सोसाइटीका आक्षेपप्रति पत्रकार महासङ्घको ध्यानाकर्षण

कान्तिपुर मिडिया गु्रपबाट बलपूर्वक निष्काशन तथा गैरकानुनी सरुवा गरिएका पत्रकारको अधिकार प्राप्तिका लागि नेपाल पत्रकार महासङ्घले गरिरहेको भद्र आन्दोलनका बारेमा नेपाल मिडिया सोसाइटीको नाममा आएका आक्षेप र टिप्पणीप्रति नेपाल पत्रकार महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।
    
    महासङ्घले आज विज्ञप्ति जारी गरी सोसाइटीले जारी गरेको विज्ञप्ति आम श्रमजीवी पत्रकारको कानुनी अधिकारका साथै नेपाल पत्रकार महासङ्घमाथि प्रहार गर्ने उद्देश्यले पे्ररित रहेको निष्कर्ष निकालेको छ । “कान्तिपुरमा कार्यरत ८२ पत्रकारलाई श्रमजीवी पत्रकार ऐनको विरुद्ध निष्काशन र सरुवा गरिएको विषयलाई बिर्सिएर महासङ्घ विरुद्ध गरिएका अनेकौँ कुतर्कको कुनै अर्थ नरहने स्पष्ट छ । सोसाइटीको नाममा आएको स्तरहीन विज्ञप्तिप्रति थप टिप्पणी गर्न महासङ्घ आवश्यक ठान्दैन, सोसाइटीमा आबद्ध सदस्य संस्थामा श्रमजीवी ऐनलगायतका कानुन पालना नभएकाबारे महासङ्घमा गुनासो छ”, विज्ञप्तिमा भनिएको छ । 

    श्रमजीवी पत्रकार ऐन आफ्नो संस्थामा तत्काल कार्यान्वयन गर्न महासङ्घले सोसाइटीको ध्यानाकर्षण गराएको छ । साथै, केही दिनदेखि विभिन्न नाममा महासङ्घ विरुद्ध भएका मिथ्या प्रचारले कान्तिपुरभित्र सम्पादकीय स्वतन्त्रता गम्भीर सङ्कटमा परेको महासङ्घको निष्कर्ष छ । “नेपाल पत्रकार महासङ्घले कान्तिपुर मिडिया गु्रपमा थालेको आन्दोलन स्वरुप परिवर्तन गरेको छ, कात्तिक ३ गतेदेखि ‘डिजिटल प्लेटफर्म’ मार्फत आन्दोलन जारी राख्ने निर्णय गरिएको जानकारी गराइन्छ, दसैँ बिदा पश्चात आन्दोलनलाई अन्तर्राष्ट्रिय समुदाय, नागरिक समाज र नागरिक तहलाई जोड्दै थप सशक्त र परिणाममूखी बनाइने छ” विज्ञप्तिमा उल्लेख गरिएको छ ।