न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित

काठमाडाैँ। न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छन् । समाजको मंगलबारको साधारणसभाले उनलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

साधारणसभाले सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई उपाध्यक्ष, उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवरलाई महासचिव, जिल्ला न्यायाधीश शिशिरराज ढकाललाई सचिव, उच्च अदालतका पूर्वन्यायाधीश बालेन्द्र रुपाखेतीलाई कोषाध्यक्षमा चयन गरेको छ ।समाजको कार्यसमिति सदस्यहरुमा उच्च अदालतका न्यायाधीश तेजनारायण सिंह राई, राजेश्वर तिवारी, उच्च अदालतका पूर्वन्यायाधीश शेखरराज पौडेल र जिल्ला न्यायाधीश दुर्गा खड्का चयन भएका छन् ।

समाजको अध्यक्ष बनेकी न्यायाधीश सपना प्रधान मल्ल एक वर्षसम्म मात्रै पदमा रहनेछिन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अवकाशपछि उनले न्यायाधीश समाजको अध्यक्ष पद छाड्नुपर्नेछ । समाजको विधानमा न्यायपरिषदको सदस्य हुने न्यायाधीश त्यही दिनदेखि पदमा नरहने व्यवस्था छ ।

न्यायाधीश समाजले न्यायाधीशहरुको पेशागत हकहितको वकालत गर्दै आएको छ । समाजमा जिल्लादेखि सर्वोच्च अदालतका न्यायाधीश र पूर्वन्यायाधीशहरु सदस्य हुन पाउने व्यवस्था छ । अवकाश भएका न्यायाधीशहरुले भने पूर्वन्यायाधीश मञ्च नामको अर्को छुट्टै संस्था पनि खोलेका छन् ।