महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता

दार्चुला । व्यास गाउँपालिका–२ मालघाटमा महाकाली तर्ने क्रममा एसएसबीले आज तुइन काटिदिँदा एक व्यक्ति नदीमा बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका हुन् ।

शुक्रबार बिहान साढे ८ बजेतिर महकाली नदी तर्ने क्रममा तुइनबाट खसेर ब्यास गाउँपालिका–२ मालका अन्दाजी ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

धामी बेपत्ता भएपछि अहिले स्थानीय आक्रोशित बनेका छन् । नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलङ्गा आउनका लागि भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ ।