परराष्ट्रमन्त्रीले भने- सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्ने विषयमा भारतसँग छलफल भयो

परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भारत भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन् । भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा शुक्रबार नयाँदिल्ली पुगेका मन्त्री खनालले भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गरेका थिए।

नयाँदिल्लीमा शनिबार भारतीय विदेशमन्त्री जयशंकरसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्दै मन्त्री खनालले नेपाल–भारत सम्बन्धका विविध आयामबारे छलफल गरेका थिए । वार्तामा विकास सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा, सम्पर्क सञ्जाल विस्तार र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषय प्रमुख रूपमा उठाइएको थियो ।

भ्रमणका क्रममा मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खनालले नेपाल–भारत सीमा विवादलगायत द्विपक्षीय विषयमा सकारात्मक छलफल भएको जानकारी दिए । उनले सीमा सम्बन्धी विषयलाई विद्यमान कूटनीतिक संयन्त्रमार्फत समाधान गर्ने दुवै देशको पुरानै धारणा रहेको उल्लेख गरे।

मन्त्री खनालले लिपुलेक हुँदै कालापानी क्षेत्रबाट मानसरोवर यात्राको मार्ग भारत र चीनबीचको सहमतिमा खुला गरिएको विषयमा नेपालले यसअघि नै परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक नोट पठाइसकेको स्मरण गराए । साथै, सीमा व्यवस्थापनका लागि गठन गरिएको द्विपक्षीय संयन्त्रअन्तर्गत फिल्ड सर्भे टोलीले पनि काम गरिरहेको जानकारी दिए ।