अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी

अमेरिकाको ओहायो राज्यस्थित टोलेडो सहरमा आयोजित एक सामुदायिक उत्सव नजिकै गोली चल्दा कम्तीमा १२ जना घाइते भएका छन् । घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको स्थानीय प्रहरीले जनाएको छ ।

टोलेडो प्रहरी विभागका उपप्रमुखका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । प्रारम्भिक अनुसन्धानका आधारमा कम्तीमा दुई जना व्यक्तिले एकअर्कातर्फ गोली चलाएको हुन सक्ने अनुमान गरिएको छ ।

घटना टोलेडोको ऐतिहासिक क्षेत्रमा आयोजना हुँदै आएको वार्षिक सामुदायिक उत्सवको आसपास भएको बताइएको छ । 

उक्त उत्सवमा प्रत्यक्ष सांगीतिक प्रस्तुति, सांस्कृतिक कार्यक्रम तथा स्थानीय ऐतिहासिक घरहरूको अवलोकनजस्ता गतिविधि सञ्चालन भइरहेका थिए ।

गोली चलेपछि उत्सवस्थलमा उपस्थित सर्वसाधारणमा त्रास फैलिएको थियो। प्रत्यक्षदर्शीहरूका अनुसार अचानक गोलीको आवाज सुनिएपछि मानिसहरू ज्यान जोगाउन चारैतिर भागेका थिए ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका केही दृश्यहरूमा मानिसहरू भागदौड गरिरहेको तथा आपत्कालीन सेवाका कर्मचारीहरूले घाइतेहरूको उद्धार गरिरहेको देखिएको छ ।

घटनास्थलमा उपस्थित एक प्रत्यक्षदर्शीले आफू साथीहरूसँग सांगीतिक कार्यक्रम हेरिरहेका बेला लगातार गोली चलेको आवाज सुनेको बताए । उनका अनुसार गोली चलेपछि सबैजना भुइँमा पल्टिएका थिए । 

केही समयपछि उनले आफू नजिकै एक हतियार फालिएको देखेका थिए । उत्सवको सुरक्षाका लागि त्यहाँ खटिएका प्रहरीहरू तत्काल घटनास्थलमा पुगेका थिए ।

ओहायोका गभर्नरले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै गर्मीयामका सामुदायिक उत्सवहरू परिवार र बालबालिकाका लागि सुरक्षित स्थान हुनुपर्ने बताए ।

उनले हिंसात्मक घटनाले समुदायमा असुरक्षा र त्रास फैलाउने उल्लेख गर्दै घटनाको निष्पक्ष अनुसन्धानको अपेक्षा व्यक्त गरेका छन् । 

प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि सक्रिय खोजी अभियान सञ्चालन गरिरहेको जनाएको छ । हालसम्म कसैलाई पक्राउ गरिएको वा घटनाको स्पष्ट कारण सार्वजनिक गरिएको छैन ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।