रवि लामिछानेको परिपक्व कूटनीतिले लयमा फर्कियो नेपाल–भारत सम्बन्ध
नेपालको राजनीतिक परिदृश्यमा हालै आएको परिवर्तनपछि पहिलोपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भारत भ्रमणले दुई देशबीचको सम्बन्धमा एउटा नयाँ अध्यायको सङ्केत गरेको छ । यस भ्रमणलगत्तै नेपाल सरकारका परराष्ट्रमन्त्री शिशिर खनालले दक्षिणी छिमेकीबाट मिठासपूर्ण स्वागत प्राप्त गरेका छन् । यस घटनाले कूटनीतिक क्षेत्रमा थप चासो पैदा गरेको छ ।
परराष्ट्रमन्त्री खनालको यस भ्रमणलाई नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आगामी भारत भ्रमणको प्रारम्भिक तयारीको रूपमा पनि हेरिएको छ । खनालको सफल भ्रमणपछि निकट भविष्यमै भारतीय पक्षबाट परराष्ट्रमन्त्री वा सचिवको तहमा नेपाल भ्रमण हुने सम्भावना प्रबल रहेको छ ।
नेपालको नयाँ राजनीतिक परिस्थिति स्थापित भएपश्चात्को भ्रमण आदानप्रदानले दुई देशबीचको सम्बन्धमा नयाँ कूटनीतिक संवादको ढोका खोलेको छ । यस महत्त्वपूर्ण आधार तयार गर्ने श्रेय सोझै रास्वपा सभापति रवि लामिछानेलाई जान्छ । उनले आफ्नो भारत भ्रमणको माध्यमबाट एउटा सशक्त सन्देश प्रवाह गरेका छन्- नेपालको नेतृत्व अब पुरानो खाकाभन्दा बाहिर गएर पनि सम्बन्ध विस्तारमा जुट्न सक्छ।
तर, यसै क्रममा एउटा अनपेक्षित प्रसंग पनि देखियो । प्रधानमन्त्री बालेनले संसदमा सीमा समस्या सम्बन्धी विवादास्पद अभिव्यक्ति दिए । ठीक त्यही समयमा रवि लामिछानेको भारत भ्रमण हुँदा कतिपयले संशयको नजरले हेरेका थिए । आलोचकहरूले यो तालमेललाई सकारात्मक रूपमा लिएका थिएनन् ।
सुखद् पक्ष के भने भारतीय पक्षले भने बालेनको उक्त अभिव्यक्तिलाई खासै गम्भीरतापूर्वक लिएको देखिएन । यसको पछाडि धेरै कारण छन् । पहिलो, भारतीय संस्थापनलाई राम्रोसँग थाहा छ कि बालेन एउटा तालिमप्राप्त परम्परागत राजनीतिज्ञ होइनन्, बरु फरक क्षेत्र (कला, सङ्गीत, र सामाजिक सञ्जाल) को लोकप्रियताका कारण राजनीतिमा आएका व्यक्तित्व हुन् ।
त्यसमाथि, नेपालको परराष्ट्र मन्त्रालयले बालेनको अभिव्यक्तिको औपचारिक रूपमा अर्थ प्रस्ट्याइसकेको छ । यी दुवै कारणले गर्दा दिल्लीले बालेनको अभिव्यक्तिलाई न त हर्षको विषय बनायो, न विषादको नै । यस दृष्टिले हेर्दा भारतले पनि एउटा परिपक्व कूटनीतिक व्यवहार प्रदर्शन गरेको छ । भारतले दुई पक्षीय सम्बन्धलाई पुराना विवादहरूको परिधिभन्दा माथि उठाएर नयाँ शिराबाट अघि बढाउन नेपालको उदीयमान राजनीतिक शक्तिसँग हातेमालो गर्ने स्पष्ट संकेत देखाएको छ ।
रवि लामिछानेले प्रतिष्ठित इन्डियन एक्सप्रेस दैनिकमा लेख नै लेखेर समग्र भारतीय जनतासँग प्रत्यक्ष संवाद गर्ने जमर्को गरे । कूटनीतिक अभ्यासमा यो प्रयास निकै अर्थपूर्ण र सराहनीय देखिन्छ । उनले केवल दिल्ली दरबारका बन्द कोठामा कानेखुसी गरेनन्, बरु सिङ्गो भारतलाई नेपालको तर्फबाट आफ्ना कुरा खुलस्त रूपमा राख्ने साहस गरे । यसले कूटनीतिक शैलीमा नयाँ कोपिला उमारेको छ ।
लामिछानेले विकास कूटनीतिलाई केन्द्रमा राखेर अघि बढ्न तयार रहेको स्पष्ट अभिव्यक्ति दिएका छन् । आजको विश्वमा यो दृष्टिकोण अपरिहार्य पनि छ । जलवायु परिवर्तन, ऊर्जा सुरक्षा, डिजिटल कनेक्टिभिटी र आर्थिक समृद्धिको साझा लक्ष्यले मात्र दुई छिमेकीलाई नजिक ल्याउन सक्छ । उनको उक्त अभिव्यक्तिले नेपाल अब पुरानो खिचातानीभन्दा माथि उठेर सहकार्यको बाटो रोज्न चाहन्छ भन्ने स्पष्ट सन्देश दिन्छ ।
हो, भारतसँग हाम्रा कतिपय मामिला सुल्झाउन बाँकी नै छन् । खासगरी सीमाको मामिला अत्यन्तै संवेदनशील विषय हो । यस विषयमा नेपालले आफ्नो अडान छाडेको छैन र छाड्न पनि सक्दैन । तर लामिछानेको प्रस्तावित दृष्टिकोणमा एउटा सन्तुलित बाटो देखिन्छ । अवश्य पनि नेपालले आफ्नो दाबी र अडान यथावत् राखी अन्य विवादरहित मामिलाहरूमा द्विपक्षीय सहकार्यलाई अगाडि बढाउँदै लैजाने नीति लिन्छ र लिनुपर्छ । यसले सीमा जस्तो गम्भीर मुद्दालाई पनि कूटनीतिक प्रक्रियाको टेबुलमा कायमै राखी अन्य क्षेत्रको सम्बन्धलाई सुचारु राख्न सकिने देखाउँछ । यसले उनमा एक राजनेताको विशेषता विकास हुँदै गएको देखाउँछ ।
परराष्ट्रमन्त्री शिशिर खनालले नयाँ दिल्लीमा बालेन सरकार भारतसँग ठोस सहकार्य गर्न तयार रहेको स्पष्ट पारेका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटमा खनालले नेपालले भारतलाई उच्च प्राथमिकतामा राखेको र वर्तमान सरकारलाई विगतको कुनै बोझ नरहेको बताए । त्यसैले, अब नयाँ शिराबाट सहकार्यको आधार तयार भएको छ ।
साथै, मध्यपूर्वको संकटका समयमा इन्धन र रासायनिक मल आपूर्ति गरेकोमा खनालले भारतलाई धन्यवादसमेत दिए । प्रतिउत्तरमा जयशंकरले पनि आवश्यक परेको बेला एकअर्काको साथमा उभिने बताउँदै एआई, स्टार्टअप, सूचना प्रविधि र नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्यको सम्भावना व्यक्त गरे । यसले भारतले पनि नेपालको नयाँ नेतृत्वसँग दीर्घकालीन एवं परिणाममुखी सम्बन्ध बनाउन चासो राखेको देखाउँछ ।
समग्रमा भन्दा रवि लामिछानेको भारत भ्रमण र त्यसपछिको कूटनीतिक आदानप्रदानले नेपाल-भारत सम्बन्धमा नयाँ संवादको शृंखला सुरु भएको स्पष्ट संकेत गरेको छ । विकास साझेदारी, आर्थिक सहकार्य र जनता-जनताबीचको सम्बन्धलाई नै प्राथमिकता दिँदै अघि बढ्ने बाटोमा यो भ्रमण एउटा कोसेढुङ्गा साबित हुनेमा शंका छैन । यस पूरै प्रक्रियाको आधार तयार गर्ने र कूटनीतिक मोर्चामा नयाँ अभ्यासको सुरुवात गर्ने श्रेय रास्वपा सभापति रवि लामिछानेलाई नै जान्छ । उनले देखाएको यो मार्गदर्शनले नेपाली राजनीतिमा देखिएको परिवर्तन र परिपक्वताको परिचय दिन्छ
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मत जंग कार्कीलाई मनोनीत
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
बालेन शाहको उदयले नेपालको राजनीतिमा ल्याएको तरंग साँच्चै नै ऐतिहासिक छ !
श्रीमती हत्या प्रकरणमा ‘नेपाली ब्रो’ सहित थप ४ जना पक्राउ
सुधन गुरुङ भन्छन्- प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ
पूर्व आईजीपी खापुङ पुर्ख्यौली थलोमा रोपाइँ गर्दै, माटोसँगको प्रेमले जित्यो मन
प्रतिक्रिया