रास्वपाका ६७ जिल्लामा निर्वाचन, प्रदेश अधिवेशन जेठ २६ देखि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा र पालिका तहका निर्वाचन सम्पन्न गरेपछि जिल्ला तथा प्रदेश तहको निर्वाचन प्रक्रियालाई अगाडि बढाएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार आज जेठ २३ र भोलि जेठ २४ गते देशव्यापी रूपमा जिल्ला अधिवेशन तथा निर्वाचन कार्यक्रम सञ्चालन भइरहेको छ।
केन्द्रीय निर्वाचन आयोगले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पार्टीलाई पूर्ण रूपमा वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने उद्देश्यसहित जिल्ला अधिवेशनहरू सञ्चालन गरिएका हुन्।
आयोगका प्रमुख भुवन केसीले जिल्ला अधिवेशनहरू पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने महत्वपूर्ण चरण भएको बताएका छन्। उनले स्वच्छ र निष्पक्ष निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन हुने विश्वास व्यक्त गर्दै प्रत्येक जिल्लामा ३ सदस्यीय तथा प्रदेशमा ५ सदस्यीय निर्वाचन समिति परिचालन गरिएको जानकारी दिए।
आयोगका अनुसार हालसम्म ४ हजार २४६ वडा समितिको अधिवेशन सम्पन्न भएको छ भने थप ४ तदर्थ वडा समिति अद्यावधिक गरिएका छन्। यस्तै ५१२ पालिका समितिको अधिवेशन सम्पन्न भइसकेको छ भने थप ४ तदर्थ पालिका समिति अद्यावधिक गरिएको जनाइएको छ।
राष्ट्रिय महाधिवेशनअघि ७७ मध्ये ६७ जिल्लामा निर्वाचन सम्पन्न गर्ने कार्यतालिका तय गरिएको आयोगले जनाएको छ। जसअनुसार आज सातै प्रदेशका ३८ जिल्लामा मतदान तथा नेतृत्व चयन भइरहेको छ भने भोलि थप २७ जिल्लामा निर्वाचन हुनेछ। विशेष साङ्गठनिक परिस्थितिका कारण एक जिल्लाको निर्वाचन जेठ २६ गतेका लागि तय गरिएको छ।
सोही दिनबाट बागमती प्रदेशमा प्रदेश अधिवेशनको समेत सुरुवात हुने आयोगले जनाएको छ। सातवटै प्रदेशमा प्रदेश अधिवेशन सञ्चालनका लागि ५ सदस्यीय प्रदेश निर्वाचन समिति गठन गरी काम सुरु भइसकेको पनि विज्ञप्तिमा उल्लेख छ।
कार्यतालिकामा समावेश नभएका बाँकी १० जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशन सम्पन्न भएपछि क्रमशः सञ्चालन गरिने आयोगले जनाएको छ।
केन्द्रीय निर्वाचन आयोगले आन्तरिक लोकतान्त्रिक अभ्यासलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्पूर्ण सरोकारवालासँग सहयोगको अपिल गरेको छ।
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभागको सदस्यमा हिक्मत जंग कार्कीलाई मनोनीत
रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक
बालेन शाहको उदयले नेपालको राजनीतिमा ल्याएको तरंग साँच्चै नै ऐतिहासिक छ !
श्रीमती हत्या प्रकरणमा ‘नेपाली ब्रो’ सहित थप ४ जना पक्राउ
सुधन गुरुङ भन्छन्- प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ
पूर्व आईजीपी खापुङ पुर्ख्यौली थलोमा रोपाइँ गर्दै, माटोसँगको प्रेमले जित्यो मन
प्रतिक्रिया