प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ: मुख्यमन्त्री यादव

 मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताउनुभएको छ  । 

 सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताउनुभयो । 

उहाँले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उहाँले समस्याबाट नआत्तिन पीडित परिवारलाई आग्रह गर्नुभयो । 
“केही दिनभित्रै प्रदेश सरकाले अग्निपीडितका लागि राहतप्याकेज घोषणा गरी पीडित परिवारका घर निर्माणको काम सुरूआत गर्नेछ । प्रदेश सरकार तपाईँहरुको साथमै छ त्यसैले सँगसँगै मिलेर समस्याको सामना गरौँला”, उहाँले भन्नुभयो । 

त्यसअवसरमा मधेस प्रदेशका वन तथा पर्यटनमन्त्री भरतप्रसाद साह, पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साह, मधेश प्रदेशसभा सदस्य मनिष सुमन, किरण साह, प्रमुख जिल्ला अधिकारी किरण थापा, स्थानीय जनप्रतिनिधिलगायत विभिन्न पार्टीका नेताहरूले चिम्टीका अग्निपिडितहरुको समस्या बारे जानकारी लिनुभएको थियो ।