सरकारले गरिबी निवारणमा जोड दिनुपर्छ: अध्यक्ष ओली

काठमाडौँ, २० वैशाख: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले गरिबी निवारणमा विशेष जोड  दिनुपर्ने बताउनुभएको छ । 

भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘महिला सशक्तीकरण सांस्कृतिक तथा व्यापार महोत्सव’ को उद्घाटन गर्दै उहाँले सरकारले जनताको आवास र  आम्दानीको स्थितिलाई सुदृढ र सुनिश्चित गर्दै गरिबी निवारणमा जोड दिनुपर्ने बताउनुभयो । 

उहाँले हरेक मानिसले हावाहुरी, हिउँद, बादल र गर्मीजस्ता समस्याबाट बच्नका लागि सुरक्षित आभाव र आधुनिक सुविधा हुनुपर्नेमा बताउनुुभयो । अहिले पनि जनताले पौष्टिक र सन्तुलित आहार, सर्बसुलभ गुणस्तरिय शिक्षा, सहज र गुणस्तरीय उपचारजस्ता आधारभूत आवश्यकताका लागि लड्नुपरेको भन्दै यी आधारभूत आवश्यकता पूरा गर्नसक्ने गरि आम्दानीवृद्धि हुनुपर्ने उहाँको भनाइ थियो ।  “म पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालजस्तो देशमा अब भोकले कोही पनि नमरून भनेर अभियान सुरूगरेको थिए । मलाई हटाइएपछि त्यो अभियान रोकियो । अर्को पल्ट प्रधानमन्त्री हुँदा फेरि त्यसलाई अगाडि बढाए”, उहाँले भन्नुभयो,“त्यसकारण देश र जनताले भोगेका समस्याप्रति जिम्मेवार हुन सबैलाई  आग्रह गर्दछु ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सुकुम्बासीका बस्ती बनाउने अभियान सञ्चालन गरेर उपत्यकाका सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“सुकुम्बासीको समस्या समाधान गर्नुपर्दछ । तीनै तहका सरकारले नागरिकको गास, बास, खान पाउने  अधिकारप्रति उत्तरदायी हुनुपर्दछ ।”  उहाँले पार्टी जनताको काम गर्न उद्देश्यसहित आफ्नो पार्टी सरकारमा गएकाले जनताको पक्षमा काम गर्ने प्रयास अगाडि बढाइरहेको बताउनुभयो ।

सङ्गठनका अध्यक्ष शान्ता चौधरीले सरकारले सुकुम्बासी समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।