असफल बने कुलमानः औद्योगिक क्षेत्रमा १२ घण्टा लोडसेडिङ, गाउँघरमा साँझ हुँदैन बत्ती

पहिलो कार्यकालमा मुलुकलाई लोडसेडिङमुक्त भएर चर्चा कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यसपटक असफल भएका छन्। भारतबाट महँगोमा विजुली किनेर मुलुकलाई लोडसेडिङमुक्त बनाए पनि त्यो दिगो हुन सकेन। फलस्वरुप अहिले औद्योगिक क्षेत्रमा दैनिक १२ घन्टासम्म लोडसेसडिङ भइरहेको छ। कुनै–कुनै क्षेत्रमा १५ घण्टासम्म पनि लोडसेडिङ भइरहेको हो।

अहिले रातको समयमा नेपालले ग्यासबाट उत्पादित विद्युत् मात्रै आयात गर्न पाइरहेको छ। यो विजुली निकै महँगो हुन्छ ।ग्यासबाट उत्पादित विद्युत् प्रतियुनिट ८ देखि १० भारुसम्म पर्छ ।
महँगोमा विद्युत् आयात गर्नुपर्ने भएपछि अहिले उद्योगहरुमा लोडसेडिङ भइरहेको हो ।

त्यति मात्र होइन तराईमा अहिले प्रचण्ड गर्मी छ, पंखा नचलाइ सुत्न सकिँदैन । तर, ग्रामीण क्षेत्रमा साँझ कहिल्यै बत्ती हुँदैन। सरकारी सञ्चारमाध्यम गोरखापत्रले बुधबार मात्र समाचार लेखेको छ, मुगुको सदरमुकाम पछिल्लो पटक राष्ट्रिय प्रसारण लाइनमा जोडिएदेखि दैनिक बेलुकाको लोडसेडिङले नागरिकले सास्ती खेप्नु परेको छ। घोषित रूपमा लोडसेडिङ नभए पनि यहाँ छिनछिनमा बत्ती जाने गरेको छ । एक–दुई मिनेटदेखि पाँच–सात मिनेटको दौरानमा दैनिक दर्जनौँ पटक बिजुली जाने आउने गरेको छ।

यो समस्या मुगुको मात्र होइन, देशका ग्रामीण भेगमा सबैतिर छ। 

काठमाडौंमा लोडसेडिङ गरेमा आलोचना धेरै हुने भएकाले घिसिङले यो ट्रिक लगाएका हुन्। गाउँमा हावाहुरीले पोल भाँचेर बत्ती गयो, ट्रान्सफर्म पडकियो भनेर बहाना बनाइ लोडसेडिङ गर्ने गरिएको छ।

४२ डिग्री चर्काे गर्मीमा पनि लोडसेडिङ खेप्नुपरेपछि उपभोक्ता हैरान भएका छन्।  कुनै क्षेत्रमा मध्यरात १२ देखि दिउँसो १२ बजेसम्म, कुनैमा साँझ ६ देखि बिहान ९ बजेसम्म पनि लोडसेडिङ

भइरहेको छ।
लोडसेडिङबाट आजित भएका उद्योगीहरुले त लोडसेडिङको तालिका नै सार्वजनिक गर्न प्राधिकरणसँग माग गरिसकेका छन्। सरकारले लोडसेडिङ छैन भन्ने तर जनताले बत्ती बाल्न नपाउने, उद्योगीले उद्योग चलाउन नपाउने स्थिति बनेपछि घिसिङविरुद्ध आक्रोश बढेको छ।

घिसिङले उद्योगीका कुरा नसुनेपछि उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गुहारेका थिए। नेपाल उद्योग परिसंघको २१औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा  परिसंघ अध्यक्ष राजेश कुमार अग्रवालले धेरै विद्युत खपत गरिरहेका उद्योगहरुमा नै १६ घण्टासम्म लोडसेडिङ्ग गराइरहेको बताएका थिए। ‘यो कस्तो नीति हो हामीले बुझ्न सकेका छैनौँ,’ उनेर उनले प्रश्न गर्दा प्रचण्ड चुपचाप सुनिरहेका थिए।

उनले विद्युत प्राधिकरणले अहिले विद्युत आयात गर्दा महंगो परे पनि विद्युत उपलब्ध भए समग्र अर्थतन्त्रको विकासमा त्यसले सहयोग गर्ने बताए। 

लोडसेडिङका कारण उद्योगको उत्पादन पनि घटेको छ। त्यसै पनि समग्र बजार मागमा सुधार आउन नसक्दा कम उत्पादन गरिरहेका उद्योगहरुको उत्पादन लागत बढिरहेको छ। नियमित विद्युतको आपूर्ति उद्योगहरुका लागि लाइफलाइन भएकाले विद्युत् उपलब्ध गराइदिन उद्योगीको माग छ।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश अध्यक्ष अशोककुमार टेमानीका अनुसार अहिले वीरगञ्ज क्षेत्रका उद्योगमा मात्रै होइन, सर्वसाधारणका घरमा पनि अनियन्त्रित लोडसेडिङ भइरहेकोले छ। ‘‘उद्योगहरूमा त दिनको कम्तीमा १२ घण्टा लोडसेडिङ भइरहेको छ, तर कुन बेला बत्ती जान्छ भनेर प्राधिकरणले अग्रिम जानकारी गराउँदैन,’ उनले भने, ‘सामान्यतया साँझ ६ देखि बिहान ६ बजेसम्म विद्युत् गइरहेको छ ।’

भारतबाट रातको समयमा विद्युत आयात हुन नसक्दा साँझ ६ बजेदेखि १२ बजेसम्मको समयमा केही मात्रामा विद्युत कटौती गर्नु परेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले स्वीकार गरेका छन्। तर, लोडसेडिङ नै भनेर नभनिएको उनले बताए।  अहिले पिक समयमा १ हजार ८ सय ३३ मेगावाट विद्युत् माग छ।  दिनको समयमा कुल विद्युत् आपूर्ति १ हजार ३ सय ४३ मेगावाट छ । भारतबाट दिनको समयमा ४ सय मेगावाट विद्युत आइरहेकोमा राति त्यो आउँदैन ।