मेट्रो ट्रेन र बस एकआपसमा ठोक्किँदा दर्जनौं यात्रु घाइते

काठमाडौं । अमेरिकाको लस एन्जल्सस्थित एक्सपोजिसन पार्क क्षेत्रमा मेट्रो ट्रेन र बस एकआपसमा ठोक्किँदा दर्जनौं यात्रु घाइते भएका छन् ।

१ सय ५० भन्दा बढी यात्रु बोकेको मेट्रो ट्रेन र युनिभर्सिटी अफ सदर्न क्यालिफोर्नियाको बस एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा करिब ५५ जना घाइते भएको जनाइएको छ ।

सडक मार्ग हुँदै चल्ने मेट्रो ट्रेन पूर्वी लस एन्जल्सबाट स्यान्टा मोनिका जाँदै गरेको बेला बसले ट्रेनको मार्ग पार गरिरहेको अवस्थामा ठाक्किन पुगेको लस एन्जल्स मेट्रोका प्रवक्ता डेभ सोटेरोले जनाएका छन् ।

घटना लगत्तै आपतकालीन सेवा विभागका कर्मचारीहरु उद्धारका लागि घटनास्थलमा पुगेका थिए । करिब ३७ जनाको घटनास्थलमै खटिएको चिकित्सक टोलीले उपचार गरिरहेको छ भने गम्भीर घाइते २ जनालाई तत्काल उपचारका लागि नजिकैको अस्पतालमा लगिएको बताइएको छ ।

त्यस्तै, अन्य १६ जना यात्रुहरू सामान्य चोटपटक लागेको छ । सामान्य चोटपटक लागे पनि उनीहरुलाई चिकित्सकको निगरानीमा राखिएको छ ।