सहकारी ठगी प्रकरणले रविलाई ब्याकफायर, मिसन ०८४ मा गम्भीर धक्का

सहकारी ठगी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीलाई गम्भीर धक्का लागेको छ।  पार्टी अध्यक्ष रवि लामिछाने चितवन र बुटवलका सहकारी ठगी प्रकरणमा प्रत्यक्ष जोडिए पनि सत्ताको बलमा पन्छिरहेका बेला इलामका जनताले घन्टी बजाइदिएका छन्।

रविले गैरकानुनी रुपमा सहकारीबाट ऋण लिए पनि उनले स्वीकार गरेनन्। बरु गृहमन्त्री भए। गृहमन्त्री भएको दम्भमा रहेर उनले आफूमाथि प्रश्न उठाउनेलाई गाली गरे।

तर, त्यसको परिणाम इलाममा देखिएको छ। रास्वपा कतिसम्म कमजोर रह्यो भने उसका उम्मेदवार मिलन लिम्बुले जमानत पनि जोगाउन सकेनन्। कुल सदर मतको १० प्रतिशत ल्याउनुपर्ने बाध्यता भएपनि लिम्बुले ५ हजार ५० मत मात्र ल्याउन सके । इलाममा एमालेका सुहाङ नेम्वाङ २७ हजार ७७२ मतसहित विजयी भए। मुख्य प्रतिस्पर्धी कांग्रेसका डम्बर खड्काले २१ ह्जार ९४२ मत ल्याए। तर, स्वतन्त्र उम्मेदवार डकेन्द्र लिम्बुले ११ हजार ४५७ मत ल्याएर जमानत जोगाउदा रास्वपाको हविगत भने देखियो ।

०७९ मा खुलेको पार्टीले ६ महिनामै २१ सिट ल्याएपछि रवि शक्तिशाली बनेका थिए। चुनावको केही महिनामै तीनवटा निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमध्ये रवि चितवनबाट र स्वर्णिम वाग्ले तनहुँबाट निर्वाचित भएपछि रास्वपाका नेताहरुको दम्भ बढेको थियो। त्यसपछि हो रास्वपाका नेताहरुले आफूमाथि आलोचना गर्नेलाई देख्न छाडेको। आलोचना गर्नेलाई प्रधानसत्रु ठानेर प्रतिकार गर्न थालेपछि जनता रुष्ट थिए। 

त्यसैमाथि रास्वपा सरकारमा जाँदा पनि जनताले कुनै परिवर्तन महसुस गरेनन्। बरु म्यानपावर व्यवसायमा रहेका डिपी अर्याललाई श्रम मन्त्री बनाइयो। रविमाथि सहकारी ठगीको आरोप हुँदाहुँदै गृहमन्त्री बने। 

तर, रवि भने मिसन ८४ भन्दै आएका थिए। ०८४ मा हुने संसदीय निर्वाचनबाट बहुमत वा पहिलो दल बनेर प्रधानमन्त्री बन्ने धाउन्नमा रवि छन्। त्यही भएर उनले इलामको उपनिर्वाचनलाई आफ्नो शक्ति छ भनेर देखाउन चाहेका थिए। रास्वपा पूरै पार्टी इलाममा केन्द्रित हुँदा पनि हात लाग्यो शून्य। इलामका जनताले घन्टी बजाइदिए।

रास्वपाले उपमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई चुनावी कमान्डर बनाएको थियो। महामन्त्री मुकुल ढकालले पनि सरकारमा गएर आशा जगाउन नसकिँदा इलाममा हार बेहोर्नुपरेको स्वीकार गरेका छन् ।