जलहरी प्रकरणमा सबैलाई सफाइ

काठमाडौं  पशुपतिनाथको मन्दिरमा जलहरी चढाउँदा अनियमितता भएको विषयमा सबै प्रतिवादीले सफाइ पाएका छन् । एक किलोभन्दा बढी सुन हिनामिना भएको विषयमा दायर मुद्दाका तीनै प्रतिवादीलाई विशेषले सफाइ दिएको हो । 

मंगलबार विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो । यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १४ असोजमा मुद्दा दायर गरेको थियो । 

यस मुद्दामा पशुपति विकास कोषका तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल, कोषाध्यक्ष डा. मिलनकुमार थापा र कोषका स्टोर किपर अरुणकुमार श्रेष्ठ प्रतिवादी थिए । उनीहरुको मिलेमतोमा एक करोड १७ लाख रुपैयाँभन्दा बढी अनियमतिता भएको अख्तियारको दाबी थियो । 

पशुपतिको गर्भगृहमा सुन राख्ने क्रममा एक हजार चार सय ९१ ग्रामभन्दा बढी सुन अनियमितता भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको घोषणाअनुसार १२ फागुन २०७७ मा राष्ट्रपति विद्यादेवी भण्डारीले जलहरी राखेकी थिइन् ।