महोत्तरीको मटिहानीमा क्षति पहिचान तथा राहत एवं पुनर्स्थापनाका लागि समन्वय गर्न टोली परिचालन

 बैशाख १२ गते महोत्तरी जिल्लाको मटिहानी नगरपालिका-६, जरलहवा टोलमा आगलागी हुँदा नष्ट भएका घर संरचनाहरुका बारेमा वास्तविक अवस्था पहिचान गर्न तथा राहत एवं पुनर्स्थापनाका लागि सम्बन्धित निकायहरुसँग समन्वय र सहजीकरण गर्न प्राधिकरणका सहसचिवको नेतृत्वमा एक टोली परिचालन गरिएको छ । 

प्राधिकरणका सहसचिव गोगनबहादुर हमालको संयोजकत्वको उक्त टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य, प्राधिकरणका उपसचिव डा. डिजन भट्टराई र प्राधिकरणकै उपसचिव एवं डढेलो विज्ञ सुन्दर शर्मा हुनुहुन्छ ।   टोलीले क्षतिको पहिचानका साथै पीडितहरुलाई राहत तथा पुनर्स्थापनाका लागि संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहसँग आवश्यक समन्वय गरी आगामी दिनमा गर्नुपर्ने कार्यहरुका बारेमा सुझाव दिनेछ । साथै, जिल्ला विपद् व्यवस्थापन समितिलाई आवश्यक सहयोग तथा सहजीकरण गर्नेछ । 

जरलहवा टोलमा बुधबार दिउँसो १ बजेबाट सुरु भएको आगलागीमा परी ९१ कच्ची र ९ वटा अर्ध पक्की गरी १०० वटा घर जलेको, ४५५ व्यक्ति प्रभावित भएको, पाँच वटा बाख्रा र २ वटा सुंगुर जलि नष्ट भएको छ । प्रभावित परिवारलाई स्थानीय तह, स्थानीय प्रशासन र विभिन्न संघ-संस्थाबाट खाद्यान्न एवं आपतकालीन राहत सामग्री उपलब्ध गराइएको छ ।