लुम्बिनीमा मन्त्रालय फुटाएर १२ पु-याइयो, तै पनि मुख्यमन्त्री महराको कुर्सी सुरक्षित छैन

सत्ताका लागि राजनीति। सत्तामा पुगेपछि आफ्नै हात जगन्नाथ। यो नेपाली राजनीतिको चरित्र नै हो। प्रदेश सरकार आएपछि नयाँ उपाय छ, कुर्सी जोगाउन मन्त्री उपहार। मन्त्रालय नपुगे, फुटाएरै बढाउने।
प्रदेशसभाको अघिल्लो कार्यकालमा सातवटै प्रदेशले यही सिको गरे।

पछिल्लो निर्वाचनको डेढ वर्ष भएको छ। प्रदेश सरकारले मन्त्रालय फुटाउने प्रतिस्पर्धा सुरु गरेका छन्। केही दिन अघि मात्र गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालय फुटाएर सातबाट नौ पु¥याएका थिए। बागमतीमा पनि मन्त्रालय फुटाउने तयारी छ। त्यो भन्दा अगाडि गएर लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रालयको संख्या १० बाट १२ बनाइएका छन्। झ्यालझ्यालमा साइनबोर्ड, कोठाकोठामा मन्त्रालयको नारा उनले अगाडि बढाएका छन्।

मुख्यमन्त्रीसहित ११ मन्त्री नियुक्त भइसकेका छन्।  माओवादीबाट एक मन्त्री थप्न बाँकी छ। मुख्यमन्त्री महराले वैशाख ६ गते विना विभागिय मन्त्रीमा नियुक्त भएका ७ जनालाई बुधवार जिम्मेवारी दिए।  एमालेबाट मन्त्री भएका दिनेश पन्थीलाई आन्तरिक मामिला कानुन तथा सञ्चार, भुमिश्वर ढकाललाई शहरी विकास तथा खानेपानी, अर्जुन कुमार केसीलाई वन तथा वातावरण र रत्नवहादुर खत्रीलाई सामाजिक विकास मन्त्रीको जिम्मेवारी दिइयो। 

एकीकृत समाजवादीका भगवती अधिकारीलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिँदा नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार विकास तथा यातायात र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पर्यटन मन्त्रालय पाएका छन्।

चैत २५ गते नियुक्त भएका बिनाविभागीय मन्त्री एमालेबाट चेतनारायण आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीबाट दीपेन्द्रकुमार पुन मगरलाई सरकारको प्रवक्ता तथा स्वास्थ्य मन्त्रालय र जसपका भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी गत बिहीबार नै तोकिएको थियो ।

तर, पनि मुख्यमन्त्री महराको  कुर्सी सुरक्षित छैन। दुई मन्त्रालय पाउनुपर्ने अडानमा जसपा छ। उसँग तीन सांसद छन्। जसपाका एक मन्त्रीले केही दिन अघि राजीनामा दिएका थिए।

जसपालाई दुई मन्त्रालय पाएमा आफूले पनि दुई मन्त्रालय पाउनुपर्ने अडानमा नाउपा छ। नाउपासँग चार सांसद छन् । जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले मुख्यमन्त्रीले ७ बुँदे सहमति पालना नगरेसम्म जसपा सरकारमा नजाने दाबी गरे।