साताको कारोबारको तेस्रो दिन : नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ अंकमा

 साताको कारोबारको तेस्रो दिन सेयरबजार झिनो अंकले बढेको छ । बुधबार नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६९.१७ अंकमा पुगेको छ । आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १० वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार कारोबार रकमका आधारमा नेपाल रि–इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ६३ करोड ३० लाख ९३ हजार २ सय ५८ रुपैयाँको प्रमोटर सेयर कारोबार भएको छ । आजको दिन नेप्सेमा पोखरा फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन मइखोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ७.८४ प्रतिशतले घटेको छ । कुल ३१३ कम्पनीको ७२ लाख ८४ हजार २ सय ७२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५३ करोड ६४ लाख ३१ हजार ९ सय ९८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।