शिक्षामन्त्रीले शिक्षकलाई राजनीतिबाट टाढा गर्न खोजेपछि काठमाडौं र ललितपुरका शिक्षकले खोजे निहुँ

सरकारी शिक्षकको जागिर काइदाको छ। आफू सरकारी विद्यालयमा पढाउने अनि छोराछोरीलाई निजी स्कुलमा पढाउने। अनि त्योभन्दा अर्काे काइदा छ, हाजिर ठोकेर राजनीति गर्ने। नेपालमा ७७ हजार यस्ता शिक्षक छन्, जो प्रत्यक्ष रुपमा राजनीतिक दलमा आवद्ध रहेर राजनीति गर्छन्। शिक्षकले प्रभाव छाड्ने भएकाले दलहरु पनि शिक्षकलाई राजनीतिमा ल्याउन मरिहत्य गर्छन्।

तर, शिक्षामन्त्री सुमना श्रेष्ठले डण्डा लगाउन खोजेकी छन्।

विद्यालय होस वा विश्वविद्यालय शिक्षकको मुख्य जिम्मेवारी विद्यार्थीको शिक्षण सिकाइ राम्रो गर्नु हो । तर शिक्षकहरू राजनीतिक दलको पछि लाग्ने, सदस्यता लिने र पढाइमा ध्यानै नदिने गरेका कारण शैक्षिक गुणस्तर खस्किएको छ।

त्यही भएर मन्त्री श्रेष्ठले राजनीति गर्ने शिक्षकलाई कारबाही गर्न स्थानीय तहलाई परिपत्र गरेकी छन्। शिक्षामन्त्रीको कदमबाट देशभरका शिक्षक असन्तुष्ट छन् भलै उनीहरुले खुलेर विरोध गर्न सकेका छैनन्।

यही लफडा चलिरहेका बेला काठमाडौं र ललितपुरका शिक्षकले अर्काे निहुँ खोजेका छन्। गत वर्ष चैतमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा भएको थियो।चाडै नै परीक्षाफल प्रकाशन गर्नुपर्छ। तर, नेपालमा उत्तरपुस्तिका परीक्षण गर्न नै महिनौँ लाग्छ। एसईई दिएर विद्यार्थी ६ महिना खाली बस्नुपर्छ।

यस्तैमा काठमाडौं र ललितपुरका शिक्षकले पारिश्रमिक कम भएको भन्दै यी दुई जिल्लाका केन्द्रमा भएको परीक्षाको उत्तरपुस्तिका नजाँच्ने निर्णय गरेका छन्।उत्तर पुस्तिका जाँचका लागि इच्छा गरेका र तालिम लिइसकेपछि पारिश्रामिकमा निहुँ खोजेका हुन्।

नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष प्रकाश घिमिरे, नेपाल शिक्षक संघका अध्यक्ष सुरेशप्रसाद घिमिरे, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सचिव शैलेशबहादुर प्रधान र प्रगतिशील शिक्षक संगठनका अध्यक्ष गोविन्द चिलवालले विज्ञप्ति जारी गरेर पारिश्रामिक नबढाएसम्म उत्तरपुस्तिका परीक्षण गर्न नसक्ने बताएका छन्।

कक्षा १२ को उत्तरपुस्तिका परीक्षणका लागि दिइने प्रतिउत्तर पुस्तिका ३० रुपैयाँ दिनुपर्ने उनीहरुको माग छ । हाल एसईईको उत्तरपुस्तिका परीक्षणको २४ र संपरीक्षणको ६ रुपैयाँ पारिश्रमिक तोकेको छ । कर कट्टा गर्दा एउटा उत्तरपुस्तिका परीक्षणको २० रुपैयाँ जति आउँछ । साथै एक जना शिक्षकले औसतमा ३०० विद्यार्थीको उत्तरपुस्तिका जाँच्न पाउछन्।

शिक्षामन्त्री सुमनाको कदमबाट असन्तुष्ट भएका तिनै शिक्षकले उत्तरपुस्तिकाको पारिश्रमिकमा निहुँ खोजेका हुन्। देशका ६६ जिल्लाका शिक्षकलाई त्यही पारिश्रमिकले पुग्ने अनि काठमाडौं र ललितपुरमा भने बढाउनुपर्ने कारण के?

शिक्षा मन्त्रालयले यो कदमलाई राजनीतिसँग जोडेर हेर्न थालेको छ। शिक्षकले राजनीति गर्न मिल्दैन भनेर गरेको निर्णयको विरोध गर्दा उल्टै जनताबाट गाली खाइने भएकाले शिक्षकहरु नयाँनयाँ निहुँ खोज्न थालेका हुन्।