उपनिर्वाचनमा गठबन्धनभित्रकै दलहरू भिड्दै, कांग्रेसलाई हाइसन्चो

आगामी वैशाखमा इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाममा प्रतिनिधिसभा र बझाङमा प्रदेशसभाको उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीको गठबन्धन र कांग्रेस आमनेसामने हुने ठानिएको थियो।

तर, रास्वपाले पहिल्यै क्लियर गरिसकेको थियो, इलाममा आफ्नै उम्मेदवार उठाउने अनि प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने। यसले प्रदेशसभामा रास्वपाले अप्रत्यक्ष रुपमा गठबन्धनलाई सघाउने तय भएको थियो।

तर, उपनिर्वाचनको मिति नजिकिदै जाँदा परिस्थित फेरिएको छ।

सत्ता गठबन्धनभित्रकै दलहरु आआफ्ना उम्मेदवार अघि सार्न थालेपछि प्रमुख प्रतिपक्ष कांग्रेसलाई हाइसन्चो भएको छ। बझाङमा कांग्रेसले एक सिट गुमाउने स्थिति थियो। सबै दल भिड्दा इलाम र बझाङमा उपनिर्वाचन जित्न सकिने आकलन कांग्रेसले गरिरहेको हो।

अहिलेसम्मको परिस्थितिअनुसार इलाममा एमालेले सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ र बझाङमा दमन भण्डारीलाई अघि सार्ने निर्णय गरिसकेको छ।

माओवादीले पनि दुवै ठाउँमा उम्मेदवार उठाउने निर्णय गरिसकेको छ। तर, उम्मेदवारी दर्ता २४ चैतमा हुने हुने भएकाले उम्मेदवार टुंग्याइसकेको छैन। एकीकृत समाजवादीले बझाङमा बार्गेनिङ गरिरहेको छ। अहिले दुबै क्षेत्र नछोड्ने दाबी एकीकृत समाजवादीले गरे पनि उसको बटमलाइन बझाङ हो।

रास्वपाले त इलाममा उम्मेदवार टुंग्याउन प्रिइलेक्सन घोषणा गरिसकेको छ। उसले ६ जना उम्मेदवारको प्रारम्भिक नाम सार्वजनिक गरेको छ। रास्वपाले गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा शेषरमण न्यौपानेले उम्मेदवार बन्नका लागि नाम दर्ता गराएको जनाएको छ ।  

प्रतिपक्षी कांग्रेसले इलाम र बभाङ दुबै ठाउँमा उम्मेदवार टुंगो लगाइसकेको छैन। तर,  डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन,  चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम केन्द्रमा सिफारिस भएको छ। बझाङबाट पनि एक दर्जनको नाम सिफारिस भएको छ।

 कांग्रेसले गठबन्धनबाट संयुक्त उम्मेदवार हुन्छन वा एक्लाएक्लै भिड्छन् त्यो परिस्थति हेरेर उम्मेदवार टुंगो लगाउन खोजेको हो। त्यही भएर ढिलाइ गरिरहेको छ।तर, गठबन्धनमा उपनिर्वाचनमा साझा उम्मेदवार बनाउने विषयमा सहमति नजुटे फेरि गठबन्धन भत्किने खतरा उत्तिकै छ।   

एमाले अध्यक्ष केपी ओली आफ्ना उम्मेदवारको नाम बोकेर सहयोग माग्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगिसकेका छन्। तर, दुबै नेताबीच प्रदेश सरकार र उम्मेदवारको भागवण्डाबारे बालुवाटारमा निरन्तर छलफल चले पनि कुनै निर्णय भएको छैन। सत्ता गठबन्धनको साझा उम्मेदवार नहुने स्थितिको संकेत पनि छ।