ओलीको भाषण र चुनाव कार्ड!

संसद्को ठूलो दल नेकपा एमाले यतिबेला प्रमुख प्रतिपक्षी भूमिकामा छ। यही संसद्मा एक वर्षअघिसम्म दुई तिहाइनजिकको सरकारको नेतृत्व गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिपक्षी दलका नेतामा खुम्चिएका छन्।

यस्तै सातमध्ये पाँच प्रदेशमा सरकार गुमेको छ। राष्ट्रियसभा निर्वाचनमा पनि एमालेले आफ्नो सिट गुमाएको छ।

कुनै बेला पार्टीको कार्यकारी तहमा रहेका माधवकुमार नेपालले एमाले छाडेर नेकपा एकीकृत समाजवादी गठन गरेका छन्। एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल पनि नेकपा एसमा लागेपछि एमालेमा अध्यक्ष ओलीको वर्चस्व छ। अर्थात् पार्टीमा उनलाई सशक्त प्रतिवाद गर्ने कुनै नेता देखिएका छैनन्। भीम रावल, घनश्याम भुसालजस्ता केही नेताले ओलीको विरोध गरे पनि प्रभावकारी हुन सकेको छैन।

आफ्नो बचाउ गर्न र विपक्षी नेतालाई ‘खसालेर’ आलोचना गर्न माहिर नेता हुन् ओली। ४० को दशकमा मूलधारको राजनीतिमा देखा परेका ओलीको चिनारी नै ‘मिठो र लोभलाग्दो भाषण गर्ने नेता’ रहेको छ। परिस्थितिअनुसार बोलेर, ठट्यौली पारामा प्रस्तुत भएर र गम्भीर विषयलाई पनि हल्का ढंगले प्रस्तुत गरेर ओली केही क्षणका लागि श्रोतादर्शकलाई मख्ख पार्न पोख्त छन्। जुनसुकै विषयमा पनि धाराप्रवाह रूपमा बोल्ने उनको शैली चुनाव जित्ने एउटा कार्ड हो।

५१ सालदेखि आफू दोस्रोपटक प्रधानमन्त्री हुँदासम्म एमाले सरकारले गरेका कामको व्याख्यान गरेर पनि उनले मतदातालाई आफूतर्फ आकर्षित गरिरहेका छन्। विपक्षीमाथि खनिँदा उनले व्यक्त गर्ने शब्दले मतदाता लोभिन सक्नेछन्।

अर्को कुरा एमालेका सक्रिय कार्यकर्तामा आफ्ना विपक्षीसँग वादप्रतिवाद गर्ने क्षमता छ। ओलीको देवत्वकरण गरेर होस् या विपक्षीको विरोध गरेर मतदातालाई प्रभावमा पार्ने शैलीका कारण एमालेले चुनावमा राम्रो परिणाम ल्याउने अर्को कार्ड हो।

संगठन निर्माणका लागि कुशल नेतृत्वको पनि उत्तिकै भूमिका रहेको हुन्छ। दसौँ महाधिवेशनमा महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन्। संगठन निर्माण गर्न र पार्टीलाई चलायमान बनाउन पोखरेल कुशल मानिन्छन्।

०५१ सालमा मनमोहन अधिकारी नेतृत्वको सरकारले ल्याएको बहुचर्चित कार्यक्रम हो वृद्धभत्ता। तत्कालीन समयमा प्रतिस्पर्धी नेपाली कांग्रेसलगायत दलले बिरोध गरेलो थियो।‘कम्युनिस्टले वृद्धवृद्धलाई मार्छ’ भनेर जनताप्रति कम्युनिस्ट दलमाथि वितृष्णा जगाइरहेको समयमा अधिकारीले सुरु गरेको वृद्धभत्ताले एमालेले लोकप्रियता कमाएको थियो। त्यसपछि पछिल्ला हरेक सरकारले वृत्तभत्तालाई निरन्तरता दिइरहेका छन्। तर यसलाई एमालेले आफ्नो पार्टीले ल्याएको भन्दै प्रचार गर्दै आएको छ।त्यसैले ओली निकै रणनीतिक हिसाबले चुनावी मैदानमा छन् ।