भारतले विद्युतको मूल्य घटायो, प्रति युनिट १८ रुपैयाँ

काठमाडौं । नेपालले खरिद गरेको विद्युतको मूल्य घटाएर भारतले अधिकतम् मूल्य प्रति युनिट १८ रुपियाँ तोकेको छ । त्यहाको विद्युत नियमन आयोगले भोलिदेखि लागु हुने गरी तोकिएको बिजुलीको मूल्यको सीमा घटाएको हो । रुस–युक्रेन युद्धका कारण भारतका कोइलामा माग चर्किएपछि विद्युत उत्पादन घटेको भन्दै गत सातादेखि भारतको विद्युत नियमन आयोगले विद्युतको मूल्य अधिकतम् ३८ रुपियाँ तोकेको थियो ।

भारतीय बिजुलीको मूल्यमा कमी आएसँगै नेपाललाई केही राहत मिलेको छ।नेपालले सुख्खा मौसम सक्ने समय अर्थात डेड महिनासम्म भारतको यो ‘डे अहेड मार्केट’बाट विद्युत खरिद गरी आपूर्ति गर्नुपर्ने बाध्यता रहेको प्राधिकरणले जनाएको छ ।

सुख्खा समयमा पानीको सतह घटे पनि माग अनुसार नेपालमा विद्युत उत्पादन कमी भएपछि प्राधिकरणले विद्युत आपूर्ति गर्न भारतबाट आयात गर्दै आएको छ । प्राधिकरणले २० रुपियाँमा विद्युत खरिद गरेर ९ देखि ११ रुपियाँमा विक्री गर्नुपर्ने बाध्यता रहेको जनाएको छ । महँगोमा खरिद गरेको विद्युत सस्तोमा बेच्दा प्राधिकरणले दैनिक घाटा व्यहाेर्नुपर्नेछ।