नेपाल बारको मत पेटिका ओसार्दा बाकस नै साटफेरको सम्भावना

काठमाडौँ । नेपाली कांग्रेस र माओवादीसमेतले गरेको गठबन्धन अहिले स्थानीय चुनावदेखि हरेक क्षेत्रमा जित्नैपर्ने उद्देश्यका साथ काम गरिरहेको छ । यसका निम्ति जस्तासुकै हर्कत गर्न पनि पछि परेको देखिँदैन । कतिसम्म भने आगामी चुनावसम्म गठबन्धन कायम राख्न भारतीय जनता पार्टीका नेताहरुसँगको भेटमार्फत् पनि गठबन्धन संस्कृति जोगाउने मन्त्रणा पाएर देउवा फर्किँदै छन् ।

यता नेपाल बार एसोसिएसनमा पनि नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा पनि मत परिणाम आफ्नो पक्षमा पार्न शाम–दाम–दण्ड–भेदको नीति गठबन्धनले अख्तियार गरेको छ । कतिसम्म भने देशभरका बार एकाइमा गरिएको निर्वाचनका बाकस काठमाडौँ ल्याएर गणना गर्ने भनिएको छ । विद्युतीय मतदानको अहिलेको जमानामा पनि देशभरबाट बाकस बोकेर काठमाडौँ ल्याउनु भनेको चलखेलका लागि ठाउँ दिनु हो ।

५० वर्षअघि बाकस बोकेर ल्याउने अभ्यास ठीकै मान्न सकिन्थ्यो । किनभने त्यतिखेर प्रविधि र सञ्चारको विकास भएको थिएन । टाढाटाढाबाट भएका काममा अविश्वास रहन सक्थ्यो । तर अहिले त्यस्तो कुनै समस्या छैन । जिल्ला न्यायाधीशको उपस्थितिमा मुचुल्का तयार गरी सबै पक्षका प्रतिनिधि राखी ठाउँको ठाउँ गणना गर्न सकिन्थ्यो । नतिजा प्रकाशन पनि त्यहीँ गर्न सकिन्थ्यो ।

अब देशभरका बाकस काठमाडौँ आउनै कम्तीमा ३ दिन लाग्ने भनिएको छ । यसबीचमा राज्य सत्ता र प्रहरी प्रशासनको प्रयोग गरी बाकस साँटेर नतिजामा चलेखेल गर्ने व्यापक सम्भावना छ । माओवादी र कांग्रेस गठबन्धनको यसमा विशेषज्ञता र अनुभव दुवै छ । खासगरी रमनकुमार श्रेष्ठले यस्ता हर्कत गर्न गराउन विशेष योग्यता राख्छन् । चितवनको भरतपुरमा प्रचण्डपुत्री रेनु दाहाललाई जिताउन उनले मतपत्र च्यात्नेदेखि पुनः मतदान गराउनेसम्मका तानाबाना बुनेका थिए । अहिले कांग्रेस गठबन्धनमा रमन पुनः सक्रिय छन् ।

बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा ९ हजार ७ सय ८ मतदाता थिए । तीमध्ये उपत्यकामा ५ हजार ७ सय र उपत्यकाबाहिर ३ हजार ५ सय थिए । यसपालि ७० प्रतिशत मतदान भएको बार निर्वाचन समितिले जनाएको छ । उपत्यकाबाहिरका मतपेटिका साट्ने हो भने जस्तोसुकै नतिजा पनि उल्टाउन सकिने देखिन्छ ।