त्रिदेशीय टी–ट्वान्टी सिरिजमा नेपालको चामत्कारिक प्रदर्शन, अब फाइनलमा के गर्ला ?

काठमाडौँ । आईसीसी टी–ट्वान्टी विश्वकपअन्तर्गत् ग्लोबल छनोट र यूएईमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालको प्रदर्शन सम्झिनलायक रहेन । यसले नेपालका धेरै शुभचिन्तक र नेपाली क्रिकेटका समर्थक धेरैलाई निराश बनायो । घरेलु मैदानमा पपुवा न्यु गिनीसँगको दुई खेलको एक दिवसीय सिरिजमा पनि पराजित हुँदा त नेपालले झन् नेपालले धेरैतिरको सहानुभूति गुमाउन पुग्यो ।

जब नेपालले त्रिदेशीय टी–ट्वान्टी सिरिज खेल्न थाल्यो, उसको हरेक प्रदर्शन चमत्कारपूर्ण नै रह्यो । लगातार दुई प्रतियोगितामा खेलाडीले सोचेअनुसार प्रदर्शन गर्न नसकेपछि मुख्य प्रशिक्षक पुबुदु दासानायके पनि निकै दबाबमा थिए । त्यहीबीचमा उनले टोलीमा ‘पिक एण्ड ड्रप’को नीति अपनाए । उनले यूएईमा आईसीसी क्रिकेट विश्वकप लिग टु खेलिरहेकै बेला अनुभवी खेलाडीलाई टिमबाट हटाए । त्यस ठाउँमा उनले नयाँ खेलाडीलाई अवसर दिए । पपुवा न्यु गिनीसँगको एक दिवसीय र त्रिदेशीय टी–ट्वान्टी सिरिजका लागि छुट्टाछुट्टै टोली घोषणा गरे । केही नयाँ अनुहारले राष्ट्रिय टोलीको जर्सी लगाउने अवसर पाए ।

विश्वकप लिग–२ मा कमजोर पपुवा न्यु गिनीसँगको एक दिवसीय दुवै खेल नेपालले गुमायो । पपुवा न्यु गिनी र मलेसिया सम्मिलित टी–ट्वान्टी सिरिजमा भने नेपालले कमजोरी त सुधार्‍यो नै, उत्कृष्ट प्रदर्शन गर्‍यो । नेपालले खेलेका चार खेलवटै अपराजित रह्यो । प्रशिक्षक दासानायकेको ‘पिक एण्ड ड्रप’को रणनीतिले मैदानमा राम्रै काम गर्‍यो । टिममा बनिररहेको मोमेन्टमलाई टुट्न नदिन शनिबार मलेसियासँग लिगको अन्तिम खेलमा दासानायकेले एक मात्र परिवर्तन गरे । यसअघि नै फाइनलमा पुगिसकेकाले नेपाल दबाबमुक्त पनि थियो ।

चार खेल खेल्दा दीपेन्द्रसिंह ऐरी एक शतकसहित सर्वाधिक रन जोड्ने खेलाडीको शीर्ष स्थानमा छन् । उनी शनिबार ५७ बलमा १० चौका र ६ छक्कासहित सर्वाधिक १ सय १० रनमा अविजित रहे । उनले ५५ बलमै शतक पूरा गरे । उनी नेपालबाट टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने चौथो नेपाली खेलाडी हुन् ।

यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले शतकको सफलता प्राप्त गरेका थिए । दीपेन्द्रले कुल २ सय १ रन जोडेका छन् । यस्तै रोहितकुमार पौडेल र आसिफ शेखको प्रदर्शन पनि तालीका लागि योग्य रह्यो । बलिङमा करण केसी १० र सन्दीप ९ विकेटसहित सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष र दोस्रो स्थानमा छन् । सिरिजको उपाधिका लागि नेपालले सोमबार बलियो आत्मविश्वासका साथ पपुवा न्यु गिनीसँग खेल्नेछ ।

राउण्डरोबिन लिगका चार खेलमा अपराजित रहँदै नेपाल सिरिजको फाइनलमा प्रवेश गर्दा अन्तर्राष्ट्रिय खेलमा अवसर पाएका नयाँ खेलाडीले आफ्नो क्षमता देखाएका छन् । नेपाली खेलाडीको यस प्रर्दशनले धेरैको मन लोभ्याएको छ । चार खेलमा खेलाडीले अनेक कीर्तिमान बनाउन पनि भ्याए । सिरिजका ४ मध्ये २ खेलमा २ सय रनको आँकडा पार गरेको नेपालले एक खेलमा १ सय ८३ रन बनाएको थियो । विशेष गरी नव खेलाडीको प्रर्दशनले टोलीको भविष्य सुखद रहेको संकेत दिएको छ।