घोराहीमा जैविक ग्यास उत्पादन प्लान्टको उद्घाटन

 घरायसी प्रयोजनका लागि चार, छ घनमिटर क्षमताका बायोग्यास प्लान्टमा विश्वमा उदाहरण बन्दै आएकामा अब ठूला क्षमताका बायोग्यास प्लान्ट जडान गरी खाना पकाउने ग्यास, विद्युत् र जैविक मल उत्पादनमा पनि नेपालले सफलता पाउन थालेको छ ।

जैविक ९गल्ने० फोहोरबाट व्यावसायिक प्रयोजनमा ल्याउने गरी ठूला क्षमताका बायोग्यास प्लान्टले विदेशबाट आयोजित एलपी ग्यास र रासायनिक मलको निर्भरतालाई कम गर्न सकिने भएको छ ।

घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बानेश्वर काठमाडाँैको सहयोग र नेपाल ऊर्जा विकास कम्पनी प्रालि काठमाडौँको प्रवद्र्धनमा घोराही उपमहानगरपालिका–१६ करौतीडाँडामा स्थापना गरिएको बायोग्यास प्लान्टले यो सम्भावनालाई उजागर गरेको छ । करिब रु २४ करोडभन्दा बढीको लागतमा निर्माण भएको सो ग्यास प्लान्टबाट ग्यास उत्पादन थालिएको हो ।
सो प्लान्टको शनिबार उद्घाटन गर्दै नगरप्रमुख नरुलाल चौधरीले फोहोरलाई मोहरमा बदल्ने योजना सफल भएको बताउनुभयो । जनप्रतिनिधिका रुपमा निर्वाचित हुनुभन्दा पहिले थालिएको सोचलाई आफूहरुले पनि प्राथमिकताका साथ लिएको र अहिले सफल भएको उहाँको भनाइ छ । गल्ने फोहोरबाट ग्यास र मल उत्पादन गर्ने योजनालाई आफ्नै कार्यकालमा सफल भएको भन्दै उहाँले गल्ने र नगल्ने फोहोरको छुट्टाछुट्टै व्यवस्थापन गरेर राखिदिन नगरवासीलाई आग्रह पनि गर्नुभयो ।

नगरवासीसँग फोहोर किनेर ग्यास बनाएर नगरवासीलाई बिक्री गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो । नगरले गल्ने र नगल्ने फोहोरलाई पुनः प्रयोगमा ल्याएर फोहोर फालिँदै आएको ल्यान्डफिल साइटमा शून्य फोहोरमा झार्ने सोच रहेको बताउनुभयो । गल्ने फोहोरबाट ग्यास उत्पादन भइसकेको अवस्थामा अब नगल्ने फोहोरलाई पनि नागरिकहरुबाट खरिद गरेर बिक्री गर्ने गरी निजी क्षेत्रसँग समझदारीको तयारी भइरहेको जानकारी दिनुभयो ।

सरकारी र गैरसरकारी संस्थाहरु बीचको सहकार्यबाट योजना सफल भएकाले यसअघि गाड्दै र फालिँदै आएको फोहोरलाई सदुपयोग गर्न ग्यास प्लान्टले सार्थकता दिने उहाँले बताउनुभयो । सरसफाइ अभियानले फोहोर चुनौती हैन, अवसर हो भन्ने काम यो प्लान्टले देखाएको उहाँले बताउनुभयो । अब किसानले व्यावसायिक पशुपालनमा जोड दिनुपर्ने र गोबरसमेत खरिद बिक्री हुने बताउनुभयो ।

रु २४ करोड ७६ हजार ७३८ को लागतमा ग्यास प्लान्टको निर्माण भएको नेपाल ऊर्जा विकास कम्पनीका सल्लाहकार कृष्णप्रसाद पोख्रेलले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशकै सबैभन्दा ठूलो र पहिलो जैविक फोहोरबाट ग्यास उत्पादन हुने परियोजना रहेको उहाँले जानकारी दिनुभयो । यो प्लान्टमा दैनिक ३० टन कच्चापदार्थको आवश्यकता पर्ने र क्षमताअनुसारको कच्चापदार्थ उपलब्ध भएमा एकै पटक दुई हजार घरधुरीलाई ग्यास पु¥याउन सक्ने उहाँले जानकारी दिनुभयो ।

विसं २०७४ देखि प्रक्रिया सुरु गरेको र विसं २०७७ बाट उद्योग स्थापनाको काम थालिएको थियो । बीचमा दुई वर्षको समयमा कोरोना भाइरस सङ्क्रमणका काराण कार्यक्रम भनेको समयभन्दा ढिला हुन गएको उहाँले बताउनुभयो । पाइपलाइनमार्फत स्थानीयवासीको घरघरमा पु¥याउने कार्यक्रम रहेको छ । मिटरबक्समार्फत ग्यास प्रयोगको मापन हुने उहाँले जानकारी दिनुभयो ।

नगर उपप्रमुख सीता सिग्देल न्यौपानेले नगरलाई सफा र स्वच्छ बनाउन फोहोरलाई मोहरमा बदल्ने अभियानले सार्थकता पाउँदै गरेको र जथाभावी फालिँदै आएको फोहोर व्यवस्थित हुँदै गएको बताउनुभयो । ग्यास उत्पादनमा मात्रै सीमित नभएको भन्दै उहाँले यसले फोहोरको उचित व्यवस्थान र नागरिकहरुको स्वास्थ्यमा समेत ठूलो सुधार ल्याउने बताउनुभयो । फोहोरबाट ग्यास, मल उत्पादनसँगै नगल्ने फोहोर खरिदले फोहोर व्यवस्थापनमा ठूलो सहयोग पुगेको उहाँले बताउनुभयो ।

त्यसैगरी, घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले फोहोर सङ्कलनलाई थप व्यवस्थित गर्न नगरले समन्वयकारी भूमिकामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ग्यास उद्योग गौरवको योजना भएकाले नगरवासी सबैले सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका दाङका अध्यक्ष दुर्गालाल केसीले घोराही उपमहानगरपालिकाले फोहोर व्यवस्थापन र नयाँ सिकाइको कामको थालनी भएको बताउनुभयो । विभिन्न ठाउँहरुमा फोहोर व्यवस्थापनमा चुनौती देखिरहेको अवस्थामा घोराहीमा फोहोरबाटै मोहर उत्पादनले राम्रो सन्देश दिएको उल्लेख गर्नुभयो ।

त्यसैगरी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका म्यानेजर रणबहादुर थापाले ग्यास उत्पादन कार्यक्रममा चुनौतीहरु धेरै भए पनि सफल आयोजनाका रुपमा स्थापित गर्ने बताउनुभयो । अब नागरिक स्तरमा फोहोर सङ्कलन र व्यवस्थापनको महत्वलाई जानकारी गराउने समेत उहाँको भनाइ छ । उपमहानगरको वातावरण, विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नेपाल ऊर्जा विकास कम्पनीका प्रशासनिक अधिकृत शारदा शर्माले गर्नुभएको थियो ।

दुई बिघा १२ कट्ठा जमिनमा यसको संरचना निर्माण गरिएको छ । उपमहानगरभित्रका वडा नं १० र १६ मा पाइपलाइन विस्तार गरेर पहिलो चरणमा ५०० घरमा ग्यास जडान गर्ने गरी काम भइरहेको छ । ग्यास प्लान्टले अबको २० वर्षपछि उद्योग घोराही उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी सम्झौता भएको छ ।