पूर्वाधार विकासमा फड्को मार्दै कोहलपुर

 जनप्रतिनिधि निर्वाचित भएर आएको पाँच वर्षमा बाँकेको कोहलपुर नगरपालिकाले पूर्वाधार विकासमा ठूलो फड्को मारेको छ ।

नगरपालिकाका प्रत्येक वडामा कालोपत्र सडक, अत्याधुनिक नमूना बसपार्क, नगरस्तरीय अस्पताल, भ्यू टावरलगायत पूर्वाधार विकासका संरचनाले पूर्णता पाउन थालेको हो । नगरपालिकामा साविक कोहलपुर गाविसका सात, रझेना गाविसका छ र शम्शेरगञ्ज गाविसका दुई गरी १५ वडाबाट नगरपालिकाको केन्द्र पुग्ने सडक कालोपत्र गरिएको छ । विगत पाँच वर्षमा नगरपालिकाभित्र भौतिक पूर्वाधार विकासका कामलाई प्राथमिकता दिइएको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्गम वडाको रुपमा रहेका वडा नं ६, ७, १३ र १५ मा पनि विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ । पाँच वर्षको अवधिमा करिब ३३ किलोमिटर सडक कालोपत्र, १६ किलोमिटर पक्की नाली, ५४ किलोमिटर ग्राभेल सडक र १२ किलोमिटर नयाँ बाटो निर्माण गरिएको छ । नगरपालिकाका सबै वडामा सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गरिएका छन् । आफ्नै भवन नभएका १२ वटा वडा कार्यालयका नयाँ भवन निर्माण गरिएका हुन् । सो अवधिमा स्वास्थ्य चौकीका १५ वटा नयाँ भवन र २० वटा विद्यालय भवन निर्माण गरिएको नगर प्रमुख रावतको भनाइ थियो ।

करिब पाँच किलोमिटर सडक चालु आवमा निर्माण सम्पन्न हुने उहाँले जानकारी दिनुभयो । अत्याधुनिक नमूना बसपार्र्क निर्माण भइरहेको छ । अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले लामो दूरीमा सञ्चालन हुने बसका लागि चौराह नजिकै नेपालकै नमूनाको रुपमा रहने अत्याधुनिक बसपार्क निर्माण थालिएको हो । कोरोनाको महामारीबीच पनि अहिलेसम्म बसपार्कको ५५ प्रतिशत काम सम्पन्न भइसकेको नगरप्रमुख रावतले बताउनुभयो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुर कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारको रुपमा रहेकाले यहाँबाट राष्ट्रिय र अन्तर्राष्ट्रि«यबससमेत सञ्चालन हुने भएको छ । बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्ससहितको हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिनुभयो । नगरपालिकामा पूर्वाधार विकासको क्षेत्रमा देखिने गरी विकास निर्माण गरिएको उहाँको भनाइ थियो ।

नगरपालिका पूर्वाधार विकास शाखा प्रमुख इञ्जिनीयर बालकृष्ण महतराले निर्माण भइसकेका र निर्माणाधीन अवस्थामा रहेका भौतिक संरचनाको प्रगति हेर्दा समयमै सम्पन्न हुने अपेक्षा गरिएको बताउनुभयो ।उहाँका अनुसार एकीकृत बस्तीमा २० घर, २० विद्यालय भवन, १३स्वास्थ्य चौकी भवन, १२ वडा कार्यालय र ३५ किलोमिटर कालोपत्र सडक निर्माण भइसकेको छ । गौरवको योजनाका रुपमा रहेका नमूना बसपार्क निर्माण ५५ प्रतिशत, कभर्ड हल ३० प्रतिशत, कोहलपुर नगर अस्पताल ३५ प्रतिशत र भ्यू टावर ८० प्रतिशत निर्माण भइसकेको छ ।

उक्त बसपार्कसहित निर्माणाधीन अवस्थामा रहेका पूर्वाधार विकासका कार्य निर्धारित समयमै सम्पन्न गर्न जनप्रतिनिधिले समेत अनुगमन तथा निर्माण कम्पनीसँग समन्वय गर्दै आएको नगरपालिकाका आर्थिक विकास शाखा संयोजक डिलबहादुर परियारले बताउनुभयो ।